अन्तिम बलमा शरदले छक्का हान्दा भैरहवा र ललितपुरको खेल बराबर

अन्तिम बलमा शरदले छक्का हान्दा भैरहवा र ललितपुरको खेल बराबर

१४ असाेज, काठमाडौं।

कप्तान शरद भेषावकरले इनिङको अन्तिम बलमा छक्का प्रहार गरेपछि जारी एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ । स्कोर बराबर भएपछि खराब प्रकाशको कारण सुपर ओभर हुन नसक्दा दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

बिहीबार टियु मैदानमा भएकाे खेलमा जितको लागि १ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएपछि खेल ड्र भएको थियो । भैरहवालाई जितको लागि अन्तिम ६ बलमा १८ रन चाहिएको थियो । ललितपुरका युवा तीव्र गतिका बलर राशिद खानले १७ रन खर्चेपछि खेल बराबरी भएको थियो ।

अन्तिम बलमा ७ रन आवश्यक पर्दा कप्तान शरदले आफूले खेलेको पहिलो बलमा नै छक्का प्रहार गरेका थिए । भैरहवाका लागि श्रीलंका पूर्व कप्तान समेत रहेका उपुल थरंगा ४४ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६७ रनमा अविजित रहे । कप्तान शरद १ बलमा १ छक्का सहित ६ रनमा अविजित रहे ।

अन्तिम ओभरको पहिलो बलमा पवनले उत्कृष्ट फिल्डिङ गरेपछि राशिदले दुई रन खर्चेका थिए । दोस्रो बलमा पनि कुशलले दुई रन बटुले । तेस्रो बलमा कुशल मल्ल ३५ रनमा क्याच आउट भए । कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । चौथो बलमा उपुलले लङअनमा छक्का प्रहार गरेपछि खेल रोमान्चक बनेको थियो । पाँचौ बलमा एक रन बटुले । अन्तिम बलमा ७ रन चाहिएको अवस्थामा कप्तान शरद भेषावकरले लङअफमा छक्का प्रहार गरेपछि खेल ड्र भएको थियो । शरदले सामना गरेको त्यो पहिलो बल थियो ।

तीव्र गतिका बलर राशिद खानले चौथो ओभरको दोस्रो बलमा प्रदीप ऐरी २ रनमा अमजतुल्लाह ओमरजाईबाट क्याच आउट भएका थिए । युवा बाँया हाते तीव्र गतिका बलर रिजन ढकालले पाँचौं ओभरको चौथो बलमा ओपनर तमिम इकबाललाई कप्तान कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट गराएका थिए । ठूलो सट खेलेका तमिम लङअफमा समातिन पुगेका थिए । तमिमले १६ बलमा ३ चौका प्रहार गरे ।

राशिदले छैटौं ओभरको पहिलो बलमा रोहित कुमार पौडेलालाई २ रनमा रिजनबाट क्याच गराउँदा भैरहवा २९–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि उपुल थरंगा र आरिफ शेखले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै भैरहवालाई जितको आशा कायम राखेका थिए । रिजनको १५ औं ओभरको अन्तिम बलमा आरिफ २८ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए । त्यसअघिको रिजनकै ओभरमा डिप मिडविकेटमा ललितलेनै २७ रनमा क्याच ड्रप गरेका थिए । आरिफले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ललितपुरका रिजन ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । ललितपुरका सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा कप्तान तथा ओपनर कुशल भुर्तेल २ रनमा रन आउट हुन पुगे । कुशल यसअघिका दुई खेलमा पनि सस्तैमा आउट भएका थिए । कुशल काठमाडौंसँग खेलमा गोल्डेन डक र पोखरा राइनोजसँग ३ रनमा आउट भए । दोस्रो विकेटका लागि दुई श्रीलंका ब्याटर फर्नान्डो र विराक्कोडीले ६६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ अघि बढाएका थिए ।

१७ औं ओभरको अन्तिम बलमा थर्डबाट रोहितले डाइरेक्ट थ्रोमा सन्दीपलाई रन आउट गराएका थिए । पवन सरार्फ १ रनमा बोल्ड आउट भए । योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । भैरहवाका अभिनाष बोहराले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, धाम्मिका प्रसाद, अभिनाष बोहरा र आरिफ शेखले १–१ विकेट लिए ।

पहिलो खेलमा भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको थियो ।

ललितपुर पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको हो । शुक्रबार ललितपुरले विराटनगरसँग खेल्ने छ भने भैरहवाले शनिवार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.