१६ असाेज, काठमाडौं ।
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गरेको छ ।
शनिबार मालेस्थित राष्ट्रिय रंगशालामा भएकाे खेलमा युवा फरवार्ड मनिष डाँगीको दर्शनीय गोलमा नेपालले माल्दिभ्समाथि १-० को जित हासिल गरेको हो । यससँगै नेपालले २२ वर्षपछि माल्दिभ्सलाई पराजित गरेको छ ।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले अघि बढाउँदै गोल गरेका थिए । त्यसक्रममा उनले तीन डिफेन्डरको चुनौती काट्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।

माल्दिभ्सको घरेलु मैदानमा भएको खेल हेर्न उल्लेख्य नेपाली रंगशाला पुगेका थिए । खेलको अन्तिम समयमा गोल गरेकाले पनि नेपाली समर्थकहरु अत्याधिक खुसी भएका थिए । किनभने त्यसभन्दा पछि माल्दिभ्सले गोल फर्काउने सम्भावना कम भएको दर्शकलाई आभास भयो । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली फुटबललाई निकै सुधार गरेको भन्दै उनको पनि चर्चा हुने गरेको छ ।

खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोहि रणनीतिमा गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले मिडफिल्डले दिएको बललाई तीन डिफेन्स काट्दै सुन्दर गोल गरेका थिए ।

नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो । त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित तथा ४ खेल भने बराबरीमा टुंगिएका थिए । दुई दशक भन्दा लामो समयदेखि नेपाली टोलीले माल्दिभ्सलाई हराउन सकेको थिएन । पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन । त्यति बेला नेपालले २–१ ले जितेको थियो ।

त्यसयताका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन । यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा भने बराबरी खेलेको थियो । पछिल्लो पटक नेपाल र माल्दिभ्सले सन् २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए । त्यसबेला सेमिफाइनलमा नेपाललाई ३-० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो । माल्दिभ्सले भारतलाई हराउँदै उपाधि नै जितेको थियो ।
