तनहुँ जिल्ला अदालतले सवारी चलाउँदा लापरबाही गरिएको भन्दै तीन बसका चालकलाई मंगलवार पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको छ ।
गत कार्तिक ९ गते व्यास नगरपालिका वडा नं ५ बरवोटे स्थित सिन्धुमार्गमा नेपालटारबाट दमौली आउँदै गरेको ध १ ख ९५ नंम्वरको बसको ठक्करबाट सख्त घाइते भएकी सोही वडा निवासी ६५ बर्षकी टिकामाया पण्डितको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।
सोही कारण बसका चालक पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बस्ने २९ बर्षका राजकुमार विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पुरा गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालत उक्त आदेश दिएको हो ।
त्यसैगरी गत कार्तिक ४ गते जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ४ मा ग १ ज ३९२८ नम्वरको ट्याक्सीले नामथर ठेगाना नखुलेको भारतीय नागरिक राजु बदुदले चलाएको ग १२ प २०४३ नंम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ बदुदलेको मृत्यु भयो । सो घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक कुन्चोक २ घर भएका ५१ वर्षका बुद्ध तामाङलाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान गरी कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतको आदेशले ५ महिना कैद फैसला भएकोले तामाङलाई बाँकी कैद भुक्तानीको लागि कारागार पठाउन आदेश दिएको हो ।त्यसैगरी कार्तिक १० गते जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडास्थित पृथ्वीराजमार्ग सडकमा पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४९४५ नम्वरको बस पल्टिँदा बसमा सवार ८ बर्षकी श्रीया तामाङको उपचारको क्रममा मृत्यु भएकोले उक्त बसका चालक दिपक कुमार थापालाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान पश्चात कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले ६ महिना कैद फैसला गरेकोले निजको बाँकी कैद भुक्तानीको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।