१ मंसिर, काठमाडौं ।
आजदेखि विद्युतमा नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएको हो । नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले बताएको छ ।
नयाँ विद्युत महशुल दर अनुसार विपन्न मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क लाग्दैन । यी ग्राहकलाई न्युनतम मासिक शुल्क ३० रुपैयाँ शुल्क तोकिएको छ ।
२० युनिट विद्युत खपत ग्राहक नेपालमा करिब २२ लाख रहेका छन् । २२ लाख ग्राहकले अब प्रतिमहिना ३० रुपैयाँ शुल्क तिरे हुने भएको छ ।
सिंगल फेजबाट विद्युत लिएर १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम भएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।
थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्दै आएकोमा अब वर्षाका समयमा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० शुल्क लाग्ने छ ।
४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कबाट घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा शुल्क तोकिएको छ ।
आजबाट सरकारी अस्पताल तथा स्वास्थ्यचौकीले बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् । अन्य उपभोक्ताको हकमा मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाइनेछ । औद्योगिक क्षेत्रका ग्राहकले पनि यो सुविधा पाउने जनाइएकाे छ ।

