काठमाडौँ ७ मंसिर : वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ ।
काठमाडौँ वडा २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै प्रमुख विद्यासुन्दर शाक्यले विकास निर्माणको कामले गति लिएको बताउनु भएको हो ।
महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । ती आयोजनाका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन गरिएको छ ।
“जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ”–उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी निर्माण, निर्माण सामग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।”
शाक्यले जथाभावी रुपमा सडकमा राखिएका निर्माण सामग्रीको व्यवस्थापन पनि भइरहेको स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तहको सरकार अहिले भएको र केन्द्र र प्रदेशमा पनि एमालेको सरकार भयो भने विकास गर्न सजिलो हुने दाबी गर्नु भयो ।
“स्थानीय तहमा एमालेको नेतृत्व छ”–उहाँले भन्नुभयो, “प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईँहरुको विकासका सपना पूरा हुनेछन् ।” रासस