७ माघ, विराटनगर ।
चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौँ बढी अतिरिक्त शुल्क लिएको आरोप लागेका विराटनगर स्थित नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई मोरङ प्रशासनको कानुनी कारवाहीको तयारी गरेको छ ।
यसअघि नै अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरुलाई कारवाही गर्न गृहमन्त्रालयले परिपत्र गरेपनि कानुनी कारवाही नभएको भन्दै विद्यार्थीहरुले आन्दोलन जारी राखेको बेला गृहमन्त्रालयले बिहीबार फेरि मोरङ प्रशासनलाई अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नेगरी सोही प्रकृतिको पत्र पठाएको छ ।
गृहमन्त्रालयबाट हिजो पत्र आएको पुष्टि गर्दै मोरङका प्रमुख जिल्ला अघिकारी काशीराज दाहालले कलेजमा अहिले पनि नयाँ विद्यार्थी भर्ना भईरहेको जानकारी आएको भन्दै लिखित जवाफ मागिएको र अतिरिक्त शुल्क लिएको पाइए तत्कालै कारवाही प्रक्रिया अघि बढ्ने बताए ।
मोरङ प्रशासन विद्यार्थीलाई अन्याय हुन दिने पक्षमा नरहेको बताउदै दाहालले आजै नोबेलमा आन्दोलनरत विद्यार्थीहरुसँग दिउँसो ३ बजे छलफल गर्ने समेत जानकारी दिएका छन् ।
आन्दोलनरत विद्यार्थीका तर्फबाट नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता वसिम आलमले समेत प्रशासनले वार्तामा बोलाएको बताउदै नोबेल संचालक शर्मालाई कारवाही नभए आन्दोलन थप कडा हुने चेतावनी दिएका छन् ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ ।
गृहले पठाएको पत्रमा भनिएको छ, ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुनविपरीत अतिरिक्तशुल्कलिए–नलिएको बुझीलिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउनआवश्यकपहल गर्न र सोको प्रतिवेदनमन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ।’
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर कलेज प्रशासनले त्यसभन्दा लाखौ बढी शुल्क असुल गर्दै आएको विद्यार्थी र अभिभावको आरोप छ ।
यस्तै छात्रावास अनिवार्य गर्दै २४ हजार लिने गरेको भन्दै विद्यार्थीहरुले छात्रावास एच्छिक बनाउन माग गरेका छन् । तर विद्यार्थीहरुमा माग माथि नोबेल प्रशासन मौन छ । यसअघि शुल्क विवादमा शिक्षामन्त्रालयमा भएको शिक्षा मन्त्री देवेन्द्र पौडेलसहितको छलफलमा पनि नोबेल संचालक सुनिल शर्माले नोट अफ डिसेन्ट लेखेका थिए ।
सोही छलफलबाट बाहिरीने क्रममा उनलाई आन्दोलनरत विद्यार्थीहरुले कालोमोसो समेत दलेका थिए । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीहरु तीन सातायता नोबेलमा आन्दोलनरत रहेका छन् ।
आन्दोलनकै क्रममा विद्यार्थीहरुले विहीबार साझ विराटनगरमा मसाल जुलुसपनि प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले राज्यले तोकेको शुल्क अविलम्ब फिर्ता गर्नुपर्ने र विद्यार्थीहरुलाई धाकधम्की दिन बन्द गर्नुपर्ने बताएका छन् ।
स्नातकतह (एमबिबिएस) पहिलो वर्षमा भर्ना हुनआएका विद्यार्थीहरूबाट कानुन विपरीत अतिरिक्त शुल्कअसुल्नखोजिरहेको नोबेलले शुल्क नबुझाउने विद्यार्थीलाई कक्षा प्रवेशमै रोक लगाएको छ ।









