१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान हुँदैछ । संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।
मतदान अहिले बिहान ७ बजेदेखि सुरु हुँदैछ । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।
पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।