Nepal Times
Nepal Times
3
Shares

दोस्रो चरणमा जुटे दल

दोस्रो चरणमा जुटे दल

काठमाडौं : पहिलो चरण निर्वाचन सम्पन्न भएसँगै प्रमुख दलहरू दोस्रो चरणको प्रचारप्रसार रणनीतिमा जुटेका छन्। शनिबारसम्म पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा केन्द्रित रहेका उनीहरूले अब पूरै शक्ति दोस्रो चरणमा लगाउन लागेका हुन्।

कांग्रेसको निर्वाचन परिचालन समिति सदस्य मानबहादुर विश्वकर्माले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘अब हामी काठमाडौं फर्कने तरखरमा छौं। त्यसपछि सम्पूर्ण रूपमा दोस्रो चरणका लागि परिचालित हुनेछौं।’ कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति सहसंयोजक बद्री पाण्डेका अनुसार पहिलो चरणमा खटिएका नेताहरू सोमबारसम्म काठमाडौं फर्किएपछि मंगलबारदेखि दोस्रो चरण निर्वाचनका लागि कसरी अघि जाने भन्नेमा छलफल थालिनेछ।

हुन त कांग्रेसको निर्वाचन परिचालन समितिले मंगलबारदेखि १५ गतेसम्मका लागि केन्द्रीय नेता सहभागी हुनेगरी यसअघि नै विभिन्न चुनावी सभा तथा कार्यक्रम तय गरिसकेको छ। यसैगरी वाम गठबन्धनले पनि यस अघिदेखि सुरु भएको चुनावी प्रचारलाई यथावत् राख्दै दोस्रो चरणका लागि थप रणनीति बनाउने जनाएको छ। आउँदो २१ गते दोस्रो चरणअन्तर्गत ४३ वटा जिल्लामा निर्वाचन हुँदै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चिम तराईका विभिन्न सहरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समिति संयोजक विष्णु रिमालले बताए। ‘त्यसपछिका कार्यक्रमबारे छलफल चलिरहेको छ’, उनले भने, ‘एक-दुई दिनमै हामी दोस्रो चरणलक्षित कार्यक्रम बनाउने छौं।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.