२९ मंसिर, एजेन्सी ।
न्युक्लियर फ्युजन ऊर्जा निर्माण गर्ने दौडमा अमेरिकी वैज्ञानिकले ठूलो सफलता हात पारेका छन् । जसले इन्धन ऊर्जालाई विस्थापित गर्दै स्वच्छ ऊर्जा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । असीमित ऊर्जाका लागि निकै भरपर्दो स्रोतका रूपमा विश्लेषण गरिएको न्युक्लियर फ्युजनमा वैज्ञानिकहरू दशकौंसम्म खोज तथा अनुसन्धानमा लागेका थिए ।
तर, लामो समयसम्म वैज्ञानिकहरूले खोज तथा अनुसन्धान गर्दा पनि सफलता पाइरहेका थिएनन् । मंगलबार अमेरिकाका न्युक्लियर वैज्ञानिकले एक प्रेस सम्मेलन गर्दै न्युक्लियर फ्युजन ऊर्जामा नयाँ सफलता मिलेको खुलासा गरेका छन् । उनीहरू यस्तो प्रविधिमा दशकौँदेखि काम गरिरहेका थिए, जसले न्युक्लियर फ्युजन ऊर्जालाई स्वच्छ उर्जामा परिणत गर्न सघाओस् ।
वैज्ञानिकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा न्युक्लियर फ्युजनको सहयोगले स्वच्छ ऊर्जा बनाउन सकिने कुरामा सफलता पाएको बताएका छन् । न्यूक्लियर फ्युजन प्रक्रियामा युरेनियम (यू–२३५) नामक तत्व प्रयोग गरिन्छ । यस धातुमा रहेको कण (एटम) टुक्र्याएर ऊर्जा उत्पादन गरिन्छ । अहिले पत्ता लगाइएको न्यक्लियर फ्युजन विधिबाट उर्जा उत्पादन गर्दा जोखिम निकै कम सिर्जना हुन्छ ।
साथै यस प्रविधिबाट तयार पारिएको ऊर्जा वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् । यसले कार्बन उत्सर्जन पनि कम गर्दै जान्छ । न्युक्लियर वैज्ञानिकले दुई अणु मिसाएर गरिने न्युक्लियर फ्युजन रियाक्सनमा कम ऊर्जा प्रयोग गरेर धेरै ऊर्जा उत्पादन गर्न सकिने बताएका छन् ।
कुनै पनि तत्वका दुई अणुहरू (हाइड्रोजन)लाई तताएर समायोजन गरी सिङगो तत्व (सिङ्गल इलिमेन्ट) (हेलियन) बनाउँदा उक्त रासायनिक प्रक्रियामा धेरै मात्रामा ऊर्जा उत्पादन हुन्छ । त्यही ऊर्जालाई सञ्चित गरेर अन्य कामका लागि प्रयोग गरिन्छ । तर, यी दुई अणुलाई जोडेर एउटा सिङ्गो अणु बनाउने प्रक्रिया निकै नै झन्झटिलो हुन्छ ।
सूर्यमा हुने न्युक्लियर फ्युजन प्रक्रियाले गर्दा हामीले यहाँ सौर्य तथा प्रकाश ऊर्जा पाइरहेका हुन्छौँ । यो न्युक्लियर फ्युजन रियाक्सन प्रक्रियामा बाइ प्रडक्टका रूपमा हेलियम ग्यास उत्पादन हुन्छ । यसबाट पनि विकिरण निस्किन्छ । तर, यस्तो विकिरण छोटो समयका लागि मात्र हुने गर्छ । साथै यस्ता न्युक्लियर फ्युजन रियाक्सन पावर प्लान्टमा केही गरी दुर्घटना भयो भने पनि त्यसले त्यति क्षति नगर्ने वैज्ञानिकहरूले बताएका छन् । यहाँबाट उत्पादन भएको ऊर्जा पूर्ण रूपमा स्वच्छ ऊर्जा हुन्छ ।
त्यसैले पनि यो प्राप्तिलाई ठूलो सफलताका रूपमा लिइएको छ । वैज्ञानिकका अनुसार न्युक्लियर फ्युजनका लागि फोसिल फ्युल अर्थात् तेल वा ग्यास आवश्यक पर्दैन । सोलार वा वायु ऊर्जा जस्तो यो अन्य कुनै स्रोतमा पनि निर्भर हुँदैन । यस प्रक्रियामा पृथ्वीमा उपलब्ध हुने लिथियम र हाइड्रोजन जस्ता पदार्थ प्रयोग हुन्छन् । न्युक्लियर फ्युजनबाट ऊर्जा उत्पादनको विचारले सन् २०५० सम्म सम्पूर्ण देशलाई शून्य कार्बन उत्सर्जन चुनौती पूरा गर्न सघाउनेछ ।