पथरी, मोरङ, १२ मंसिर ः नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले विराटनगरलाई प्रादेशिक राजधानी बनाउन र त्यसको सर्वाङ्गिण विकास गर्न नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा कोइरालाले सोमबार साँझ मोरङको बूढीगंगा गाउँपालिकामा ट्रेड युनियन मोरङले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने, क्षेत्र नं ६ मा खानेपानीको आपूर्ति सुलभ गर्ने र ढल निकास खोल्नेलगायतका आफ्ना कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “समग्र विराटनगरको विकास गर्न काँग्रेसलाई जिताउन आवश्यक छ । पहिचान, पहुँच र प्रतिनिधित्वका लागि काँग्रेसको पक्षमा मतदान गर्न म अनुरोध गर्छु ।”
डा कोइरालाले काँग्रेसले मात्र हिमाल, पहाड, तराई र मधेशका समस्यालाई समाधान गर्ने दाबी गर्दै लोकतन्त्रको रक्षाका लागि काँग्रेसको जित अपरिहार्य भएको बताउनुभयो । उहाँले बूढीगंगालाई नमूना नगरपालिका र विराटनगरलाई प्रादेशिक राजधानी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।