ट्रान्सफर्मर किन्न महावीरका मेडल बिक्रीमा

ट्रान्सफर्मर किन्न महावीरका मेडल बिक्रीमा

१४ भदौ,काठमाण्डौ ।
बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्नका लागि सरकारबाट अपेक्षित सहयोग नपाएपछिराष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले आफूले पाएका मेडलहरु बिक्री गर्ने भएका छन् । उनले आफूले पाएका विभिन्न ३ अन्तराष्ट्रिय स्तरका प्रतिष्ठित मेडलहरु बिक्री गरेर ट्रान्सफर्मर किन्नका लागि २० देखि २५ लाखसम्म संकलन गर्ने लक्ष्य राखेका छन् ।

मेडल बेचेको पैसाले बीरगंजको कृषि औजार कारखानामा ३०० देखि ५०० केभिए सम्मको एउटा बिजुलीको ट्रान्सफर्मर यहि दशैँ अगाडी नै राख्नु पर्ने भन्दै महावीरले तिहार पछि त्यहाँ केहि औजारहरु उत्पादन सुरु गर्ने योजना रहेको बताएका छन् । कारखानाको करिब ८० प्रतिशत जति पुराना मशिनहरु मर्मत भैसकेको र बाँकी मशिनहरु मर्मत हुने बाँकी रहेको पनि उनले बताएका छन् । महावीरले बिक्रीका लागि राखिएका मेडलहरुमा
१. सन् १९९२ मा अमेरिकामा पाएको Honor Graduate Medal

२. सन् २००७ मा फिलिपिन्समा पाएको Ramon Magsaysay Award Medal

३. सन् २०१४ मा अमेरिकामा पाएको Internet Hall of Fame  रहेका छन् ।

उनले आज जनै पुर्णिमाको शुभदिनमा केहि पैसा भएका साथीहरु मिलेर २० देखि २५ लाख सम्ममा यी अन्तराष्ट्रिय पदकहरु किन्न आग्रह गरेका छन् । आफूले पाएका नेपालको पदक चाहिं बेच्न नपाइने भयो भन्दै उनले ति पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुने बताएका छन् ।

साथै यी मेडलहरु किन्ने व्यक्ति वा समुहलाई उनले पाएको धेरै किसिमका सम्मान पत्रहरु, टोकन अफ लभहरु र उपहारहरुको थुप्रो पनि सित्तैमा दिइने बताएका छन् । महावीरले आफ्नो जीबन कथाको किताब बेचेर आएको पैसा पनि त्यहि कृषि औजार कारखानामा खर्च गरिने बताएका छन् । कसैले पनि रिस राग र दुख मनाउ नगर्नु होला भन्दै महावीरल यसो गर्दा ति मेडलहरुको उच्च सम्मान हुने बताएका छन् ।

यसअघि नेपाल सरकारबाट प्राप्त मेडलहरु पनि उनले लिलामीमा राखेपछि सरकारले मेडल लिलामीमा नराख्न सचेत गराएको थियो । त्यसपछि पुनले कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद भन्दै मेडल फिर्ता गर्ने जानकारी गराएका थिए । मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सूचना जारी गरेको थियो ।

महावीर नेतृत्वको आविष्कार केन्द्रले सरकारसँग सम्झौता गरेरै कृषि औजार कारखाना संचालनको स्वामित्व लिएको छ । तर सरकारले सहमतिवमोजिक केन्द्रलाई गर्नुपर्ने सहयोग भने नगरेको पुनले गुनासो गर्दै आएका छन् । केन्द्रले ३० वर्षदेखि बन्द रहेको कारखानालाई संचालनमा ल्याएर नमुनाका रुपमा केही कृषि औजारहरु निमार्ण गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.