९ माघ, काठमाण्डौ ।
परराष्ट्र मन्त्रालयले राहदानी वितरणलाई थप सहज बनाउने भएको छ । मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारी सफल भए सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुनेछ ।
विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात गर्ने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलअनुसार विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात भए सेवाग्रहीले अनलाइनमार्फत् राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत् घरमै राहदानी प्राप्त गर्ने छन् ।
यस्तै विदेशमा रहेका नेपालीले राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानु पर्ने बाध्यतासमेत हट्ने छ । परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदले भने, ‘यसबाट परराष्ट्रमन्त्रीज्यूले धेरै पहिलेदेखि भन्दै आउनुभए झैँ पासपोर्ट सेवालाई पनि द्रुत बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ ।
सफल भए सेवाग्रहीले राहदानी विभाग जानुपर्ने छैन । विदेशको हकमा पनि आईडी (राष्ट्रिय परिचय पत्र) बनाइसकेका वा नवीकरण गर्नुपर्ने सेवाग्राहीको हकमा राजदूतावास नगइ पासपोर्ट उपलब्ध गराइने छ।’ बैठकपछि सम्बन्धित विभागहरुलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन पनि दिइएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचय पत्र बनाउँदा सेवाग्राहीले बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचयपत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जिकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।