१२ माघ, विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिमा कुशल खेलाडी मध्येका एक हुन् । शान्ति प्रक्रियामा आएपछि बाबुराम भट्टराईसहित माओवादीले ४ पटक सरकार संचालन गरिसकेको छ । यो क्रममा एक पटक मात्रै माओवादीले देशको सबैभन्दा ठूलो दलको हैसियतमा सरकार संचालन गरेपनि त्यसयता भने तेस्रो शक्तिका साथ पटक पटक सरकार संचालनको अवसर प्राप्त गरेको छ ।
गएको निर्वाचनमा मात्र ३२ सिट जितेर तेस्रो स्थानमा रहेको माओवादी गठबन्धनका नाममा काग्रेससहितका दलको मतका आधारमा राष्ट्रियसभामा भने सबैभन्दा ठूलो दल बनेको छ ।राष्ट्रियसभामा बिहीबार १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । ५१ प्रतिष्पर्धीबाट १९ जना चुनिएका हुन् । २०८० फागुन फागुन २१ गतेबाट एक मनोनीतसहित २० सदस्यको पदावधि सकिन लागेको छ । जसमा एमालेबाट एक मनोनीतसहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीबाट दुई, जसपा एक र स्वतन्त्र एकको पदावधि फागुन २१ बाट सकिँदैछ ।
त्यही स्थानमा बिहीबार कोशीमा दुई, मधेसमा दुई, वाग्मतीमा चार पदमा निर्वाचन भयो । त्यस्तै,गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका निम्ति चुनाव भएको हो । जसबाट हाल सत्तामा रहेको गठबन्धनका उमेदवार १८ सिटमा निर्वाचित भए भने मात्र एक सिटमा प्रतिपक्षी नेकपा (एमाले) निर्वाचित भएको छ । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले पाँच, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक र नेकपा एमालेले एक सिट जितेको हो ।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन् । यो एमालेको अनपेक्षित परिणाम थियो । उनले प्रतिस्पर्धी माओवादीकी चम्पा कार्कीलाई पराजित गरिन ।यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेल पराजित भए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् ।
राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । अब आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ । गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएपनि सरकार संचालनको महत्वपूर्ण अवसर पाएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको छ । हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेको छ ।
यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ । आगामी फागुन २१ मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट उक्त सिट स्थान सुरक्षित गरेको छ । राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् । १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमाले भने तेस्रो स्थानमा खुम्चिने छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा भएको मतदानमा सत्ता गठबन्धन र एमाले–राप्रपा दुवैतर्फबाट फ्लोर क्रस भएको छ । महिलातर्फ भएको मतदानमा सत्ता गठबन्धनका ३ प्रदेश सांसद र १५ प्रमुख÷उपप्रमुखले फ्लोर क्रस गरेका छन् । जसको परिणाम एमालेकी रुक्मिणी कोइराला विजयी भइन् । फ्लोर क्रस भएपछि सत्ता गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् ।
अन्य कोटातर्फ पनि फ्लोर क्रस भएको छ । एमाले र राप्रपाबाट स्थानीय तहमा विजयी भएका ७ जना प्रमुख÷उपप्रमुखले फ्लोर क्रस गरेका हुन् । अन्य कोटाबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए । सत्ता गठबन्धनको तर्फबाट काङ्ग्रेसका सिटौलालाई प्रदेशसभाका ४५ जनाले मतदान गरे । कोशी प्रदेशसभामा गठबन्धनका ४७ जना सांसद भएपनि २ जनाले सिटौलालाई मतदान गरेनन् ।
यस्तै एमाले–राप्रपाको गठबन्धनका उम्मेदवार राप्रपाका उद्धव पौडेललाई ४७ जना प्रदेश सांसदले मतदान गरे । कोशीमा राप्रपाका ६ र एमालेका ४० प्रदेश सांसद छन् । निर्वाचन हुनु दुई दिनअघि राप्रपा र एमालेबीच तालमेल भएको थियो । तर एमाले उम्मेदवारले पनि मत पाए । तालमेलअनुसार महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई राप्रपाले र अन्यतर्फ राप्रपाका उम्मेदवार पौडेललाई एमालेले मतदान गर्ने सहमति भएको थियो ।
स्थानीय तहतर्फबाट राप्रपा–एमालेका प्रमुखउप प्रमुखहरुले फ्लोर क्रस गर्दै सत्ता गठबन्धनका सिटौलालाई मत दिएका छन् । सिटौलालाई १५३ जना स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गरेका छन् । पौडेललाई १०९ जना प्रमुख÷उपप्रमुखले मत हालेका छन् । कोशीमा एमालेका ११२ र राप्रपाका ४ जना प्रमुख÷उपप्रमुख छन् । फ्लोर क्रस नभएको भए पौडेलले एमाले–राप्रपाका ११६ जनाकै मत पाउँथे । तर, उनलाई ७ जना प्रमुख÷उपप्रमुखले मत नहालेको देखिएको छ ।
यसरी कोशीमा फ्लोर क्रस गरेर आफ्ना उम्मेदवारलाई पराजित गराएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरी गम्भिर असहमति जनाएका छन् । फोनमा प्रचण्डले आफूहरू इमान्दार हुँदा पनि कांग्रेसबाट पटकपटक भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएको माओवादी नेताहरुले बताएका छन् ।
सहमति वमोजिम आफ्ना उम्मेदवारलाई हराउनकै लागि फ्लोर क्रस गरेपछि यसले सरकार संचालन र २ वर्षपछि सहज रुपमा सत्ता हस्तान्तरणमा समेत असर गर्ने नेताहरुले बताउन थालेका छन् । निर्वाचनको अघिल्लो दिन विराटनगरस्थित कोइराला निवासमा कोइरालासहित महामन्त्रीसमेतको उपस्थितीमा सबै मतदाताहरुलाई आचारसंहिताविपरित चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही कार्यक्रममा यस्तो रणनीति बनेको माओवादी नेताहरुले बताएका छन् । यसै विषयलाई लिएर माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले समेत कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएका छन् । उनले कांग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटकपटक धोका दिएको बताएका छन् ।
उनले गठबन्धन टिकाउने नाममा कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताए । उनले भने, ‘अहिले पनि हाम्रा उम्मेदवार पराजित भएका छन् । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरेपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’
यसअघि कोशीमा गठबन्धनबीच माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्री बनाउने सहमति बनेपनि काग्रेस नेता शेखर कोइरालाकै पहलमा केदार कार्की विद्रोह गरी मुख्यमन्त्री बनेका थिए । कोइराला पक्ष गठबन्धनको विरुद्धमा उभिदै आएको छ ।
गठबन्धनकै बलमा केही मत क्रस हुँदा समेत निर्वाचित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले–राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् । सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ ।इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
काग्रेसमा उनीहरुले अलग अलग गुट संचालन गरिरहेपनि सिटौलासँग कोइराला गगन समूह अहिले नजिकिएको छ । गठबन्धन गरेर पनि सिटौला विजयी हुँदा त्यही मत माओवादीकी उम्मेदवारले पाउन नसक्नु, प्रचण्डले देउवासँग गम्भिर असहमति राख्नु अनि प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नफालि नहुने बताइरहेका बेला कोइराला र सिटौलाको निकटता बढ्नुलाई तपाईले कसरी हेर्नुभएको छ ? तेस्रो दल भएर पनि प्रधानमन्त्री अनि राष्ट्रियसभामा गठबन्धनको बलमा पार्टीलाई पहिलो ठूलो दल बनाउने प्रचण्डको राजनीतिक कुशलताबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।