२८ फागुन , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते बुधबारका दिन विश्वासको मत लिने भएका छन् । उनले ३० गते विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन आइतबार नै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन भोली हुँदै छ । त्यसको भोलीपल्ट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
हाल उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको साथ छ । यी दलले साथ रहेका कारण उनले सदनमा विश्वासको मत पाउने पक्का छ । फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले एमालेलगायत दलहरूसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो ।
संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ । प्रचण्डले १४ महिनायता विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।
उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिएका थिए । अहिले पनि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए । दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । मत दिन्नमा एक मत खसेको थियो ।
प्रचण्डले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै माओवादी केन्द्रले सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरेको छ । यसैका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अमेरिका भ्रमण रद्ध गरेकी छन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।