१३ असार, काठमाण्डौ।
मनसुन भित्रिनासाथ देशका विभिन्न भागमा विपत्ति पनि भित्रिएका छन् । गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।
गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् ।
यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।
पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ ।
पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना ९ असार ११ र १२ गतेको अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ ।
जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए । मौसम पूर्वानुमान महाशाखाले यसवर्षको मनसुनले विगतको भन्दा थप क्षति पुर्याउन सक्ने भन्दै सतर्क रहन अपिलसमेत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुनको आकलन संशोधन गर्दै कैलाली, बर्दिया र सुर्खेत तथा पूर्वमा झापा, मोरङ, सुनसरी, इलामको दक्षिणी भेग र सप्तरीको पूर्वी भेगमा अधिक वर्षाको आकलन गरेको छ ।
तर, यसअघि अधिक वर्षा हुन सक्ने भनिएको पूर्वी सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा र उदयपुरमा भने अब औसत वर्षा हुने गरी आकलन संशोधन गरिएको छ ।
यसअघि औसत वर्षा हुने आलकन गरिएको डडेल्धुराको पश्चिम–उत्तर, बैतडीको पूर्वी क्षेत्र, बझाङ, डोटीको उत्तरी क्षेत्रमा पनि औसतभन्दा धेरै, तर अधिकभन्दा कम वर्षाको आकलन गरिएको छ ।
कैलालीको चुरे, डोटीको पूर्वी, दक्षिण र अछामको दक्षिण क्षेत्र र दैलेखको पश्चिमी क्षेत्रमा पनि औसत मात्र वर्षा हुने आकलन गरिएको छ ।
कपिलवस्तु, रुपन्देही तथा अर्घाखाँची र पाल्पाको दक्षिणी भेगमा पनि औसत मात्र पानी पर्ने देखिन्छ । काठमाडौं, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुली क्षेत्रमा पनि औसत वर्षाको आकलन गरिएको छ ।