८ साउन , एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् ।
भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ नै राखिएको छ ।
वित्त वर्ष २०२३÷२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२÷२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो ।
भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४÷२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।
विवादको बावजुद, माल्दिभ्सलाई अनुदान पनि बढेको छ। भारत र माल्दिभ्सबीच विवाद चलिरहेको छ । भारतले माल्दिभ्सलाई आर्थिक वर्ष २०२४–२५ को लागि ६ अर्ब भारु अनुदान दिनेछ। यो गत वर्षभन्दा बढी हो ।
आर्थिक वर्ष २०२३÷२४ मा ४ अर्ब विनियोजन गरिएको थियो । भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ ।
जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि रहेका छन् ।
बजेटमा मोदी सरकारले बजेटका ९ प्राथमिकतामा किसान, रोजगारी र मध्यमवर्गलाई केन्द्रमा राखेको छ । यसका लागि मोदी सरकारले धेरै नयाँ योजना पनि घोषणा गरेको छ । बजेटमा भारत सरकारले रोजगारी र सीप विकासका धेरै योजना ल्याएको छ ।
मोदीको गठबन्धन सरकारले आफ्नो पहिलो बजेटमा बिहारलाई प्राथमितामा राखेको छ । विहारमा दुई नयाँ एक्सप्रेसवेहरूको निर्माणका लागि २६ हजार करोड रुपैयाँ विनियोजन गरिएको छ।