२ वैशाख , काठमाण्डौ ।
गुरु धेरै पटक सोचे, यो पत्र लेखौं या नलेखौ ? तर मनले मानेन् । अन्तिममा गुरुलाई नै आग्रह गर्न वाध्य भए । गुरु अब हामीले कहाँ पढ्ने ?हाम्रो विद्यालय कहिले खुल्छ ? हाम्रो भर्ना कहिले हुन्छ ?हाम्रा पुस्तक कहिले आँउछन् ? यस्ता धेरै प्रश्नले यति बेला म मात्र हैन देशका लाखौं विद्यार्थीहरुलाई बेचैन बनाएको छ ।
सधै कक्षा कोठामा हामीलाई प्रश्न गर्ने गुरुलाई आज विद्यार्थीहरु नै प्रश्न गर्न वाध्य भएका छन् । यो अवस्था कसरी आइपुग्यो यसको जिम्मा कसले लिन्छन् ?यो देशमा तीन वटा सरकार छन् भनेर गुरुले कक्षा कोठामा पढाउनु भएको थियो ।
वास्तवमा गुरुले पढाएको सत्य हुन्छ भन्ने लाग्थ्यो । तर अहिले त लाग्छ यो देशमा तीन वटा हैन् एउटा पनि सरकार छैन् । १५ दिन देखि शिक्षकहरु काठमाण्डौंका सडकमा टर्चलाइट बालेर सरकार खोजिरहेका छन् । तर सरकार भेटिएको छैन् अनि गुरुले तीन वटा सरकार छन् भनेर पढाएको कसरी पत्याउनु ?
हाम्री साथी निर्मलाको हत्यारा नभेटिए जस्तै तपाईहरुले पनि सरकार भेट्नु हुन्न गुरु त्यसैले अब विद्यालय फर्कनुहोस् । तपाईले गाउँ छोडे संगै हामीहरुले पनि किताव कलम छोडेका छौं । विहान विद्यालय जाने बेलामा गाई चराउन जङगल जानु र बेलुका घर फर्कनु म मजस्ता हजारौं बालबालिकाको दिनचर्या बनेको छ ।
विद्यालयमा पाले दाईले लगाएको तालामा खिया लागिसकेको छ । छिमेकी काकाको छोरा हाम्रो विद्यालय छोडेर बोडिङ स्कुलमा भर्ना भएको छ । काकाले अस्ति भखर्रै दुहुना भैंसी बेचेर कमललाई बोडिङमा भर्ना गर्नुभयो ।
साँची गुरु तपाईको छोराको बोडिङ स्कुलपनि लागिसक्यो । सरकारी विद्यालयमा ताला लागेपछि बोडिङ स्कुलहरुमा दशै आएजस्तै तामझामका साथ भर्ना अभियान चलिरहेका छन् ।
छिमेकका सबैले नयाँ बोडिङको ड्रेस अनि नयाँ झोला बोकेर स्कुल जादा म चाँही हातमा लठ्ठ्ी बोकेर गोठालो गइरहेको छु । मलाई पनि त धेरै पढेर डाक्टर, इन्जिनियर मात्र हैन् यो देशलाई साँचीकै सुधार गर्ने समाजको एक असल ब्यक्ति बन्ने इच्छा छ ।
यदि तपाई यसरी विद्यालयमा हाम्रो भर्ना समेत बन्द गरेर सडक आन्दोलनमै रहिरहनु हुन्छ भने हामीले कस्तो शिक्षा पाउँछौं गुरु ? के तपाईहरुले फेरि पनि अहिलेकै नेता जस्तै नेता हामीलाई पनि बनाउन खोज्नु भएको हो ?घरमा बाआमा पनि चिन्ताले गुरुको मात्र कुरा गर्नु हुन्छ ।
गुरु अब फर्कनु होस् तपाईहरुको माग जायज त छन् तर यो श्रवणशक्ति नै गुमाएको सरकारले पूरा गर्दैन् । बरु मेरो बाले मलाई बोडिङमा भर्ना गर्न सक्लान् तर यो सरकारले तपाईहरुका माग पूरा गर्न सक्दैन । त्यसैले जसरी भएपनि चाडै फर्कनु ल गुरु ।
पोहोर साल भएको एउटा गैरी खेत बेचेर दाजुलाई बाले विदेश पठाउनु भयो । भएको एउटा दुहुना गाई बेचेर आमाको उपचार गराउनु भयो । मेरा बा ले मलाई कुनैपनि हालतमा बोडिङ स्कुलमा भर्ना गर्न सक्नु हुन्न गुरु । त्यसैले मेरो बिन्ती छ ,तपाई जसरी भएपनि चाडै फर्कनु होस् ।
तपाईले नै हैन् कक्षामा गुरु भनेका भगवान हुन् भनेको ?त्यसैले आफ्ना प्यारा विद्यार्थी र अभिभावकका आँखाबाट झरेका आँशु पुस्नका लागि भए पनि तपाई विद्यालय फर्कनु पर्छ । बरु अहिले तपाईहरु फर्कनु होस् । स्कुलमा म जस्ता गरिव बाआमाका छोराछोरीको भर्ना गरि दिनुहोस ।
अनि यस पटकको बर्खे विदामा शिक्षक र विद्यार्थी सँगै गएर सिंहदरवार घेरौंला अनि सरकारलाई घँुडा टेकाउँला । तर अहिले चाँही फर्कनु होस ल गुरु । उही तपाईको प्यारो विद्यार्थी मनोज । यो पिडा एउटा गरिव विद्यार्थी मनोजको मात्र हैन यसले लाखौं मनोजका भावनाहरुलाई बोकेको छ ।
नेपालमा हाल करिब २७ हजार ९९० वटा सरकारी (सामुदायिक) विद्यालयहरू सञ्चालनमा छन्। यी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको संख्या करिब ५२ लाख ७० हजार रहेको अनुमान छ । देशभरका शिक्षकहरु १५ दिनदेखि काठमाडौँका सडकमा आन्दोलन गरिरहेका छन् ।तर सरकारको कानमा वतास लागेको छैन् ।
शिक्षकहरूले वृत्तिविकास, सेवा सुरक्षा र समग्र शैक्षिक गुणस्तर सुधार लगायतका विषय मेटिएको कानून माग गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूले अस्थायी शिक्षकको स्थायीकरण, राहत शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यालय कर्मचारीको स्थायित्व, प्रारम्भिक बालशिक्षाको व्यवस्थित प्रावधान, कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, शिक्षकको पेन्सन र तलबमानमा सुधार लगायतका माग राखेका छन् ।
यस्तै प्रधानाध्यापक नियुक्तिप्रक्रियाको पुनरावलोकन, शिक्षक बढुवा प्रणालीमा पारदर्शिता, शिक्षक काउन्सिलको आवश्यकता, सरुवा तथा मूल्यांकन प्रक्रियामा निष्पक्षता, दुर्गम भत्ताको औचित्य, दरबन्दीको वैज्ञानिक व्यवस्थापन, निजी विद्यालयका शिक्षकको हकहितको संरक्षण र ट्रेड युनियन अधिकारको सुनिश्चितता जस्ता विषय आन्दोलनका मुख्य माग हुन्।
तर एसईईको कमजोर नतिजा र गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा शिक्षकहरूले केवल आफ्ना सुविधा र वृत्तिविकासमा मात्र ध्यान केन्द्रित गर्नुभन्दा समग्र शिक्षाको गुणस्तर सुधारमा बढी जोड दिनुपर्ने शिक्षाविद्हरुको सुझाव छ ।
घरपायक जागिरलाई मात्र प्राथमिकता दिइनु र शिक्षकहरू राजनीतिक रूपमा सक्रिय हुँदा शिक्षा क्षेत्रको विश्वसनीयता र गुणस्तरीयतामा प्रश्न उठिरहेको छ । शिक्षकका माग अन्तर्राष्ट्रिय अभ्यास, नेपालको विशिष्ट आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई ध्यानमा राखेर सम्बोधन गर्नुपर्छ ।
आन्दोलनकारीहरूले संयमता अपनाउनु र सरकारले उनीहरूका जायज मागलाई गम्भीरतापूर्वक सुन्न आवश्यक छ। अनि शिक्षकहरुले पनि विद्यार्थीको पठनपाठनमा बाधा नपर्ने गरी समस्याको समाधान खोज्नु सबै भन्दा उत्तम बाटो देखिन्छ ।