विराटनगर,असोज १७
जुटखेतीमा आम्दानी भन्दा खर्च बढी भएपछि पछिल्ला समय जुट किसानहरु अन्य खेतीतर्फ पलायन भएका छन । लगानी बढी गर्नुपर्ने र आम्दानी कम भएपछि किसानहरुले जुट अर्थात (पट्वा) खेती लगाउन छाडेका छन् । जुटखेती गर्ने अधिकांश कृषकहरु अहिले धानखेती गर्दै आएका छन् ।
मोरङको रंगेलीका दिपेन्द्र महतोले पाँचवर्ष अघिसम्म ३ बिगाहा जमिनमा जुट अथवा (पट्वा) खेती गर्थे । तर जुट खेतीबाट फाइदा नभएपछि उनी अहिले धानखेती नै गर्न थालेका छन । जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले जुटखेतीका लागि उर्वर भूमि भनेर चिनिएका मोरङ,सुनसरी र झापा जिल्लाबाट क्रमश जुट खेती लाउने क्रम हराउदै गएको छ । लागत अनुसारको मूल्य नपाएपछि जुट खेती मासेर किसानहरु धान खेती लगाउन थालेका छन ।जुट खेतीमा संलग्न किसानहरुका अनुसार जुटको बाली भित्राउने मुख्य समय साउन मसान्तदेखि असोजसम्म हो । तर, झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारण जुट खेती क्रमिक रुपमा मासिने क्रममा छ । जुट खेतीका लागि सरकारले प्रोत्साहन नगर्नु पनि जुट खेती मासिनुको अर्काे एउटा कारण रहेको छ ।
कुनै बेला नेपालमा सबै भन्दा बढी जुट खेती हुने जिल्ला मोरङ,सुनसरी र झापा पर्दथे ।तर पछिल्लो समयमा जुट खेती मासिदै जाँदा जुट खेती यतिबेला किसानले चाड पर्व मनाउन खर्च जोहका लागि मात्र लगाउने गरेका छन ।
६० हजार हेक्टरमा लगाइने जुट खेती ६ हजार हेक्टरमा सिमित नेपालीमा सबै भन्दा वढी खेती हुने मोरङ,सुनसरी र झापा जिल्लामा अहिले ६ हजार हेक्टरमा मात्र जुट खेती हुने गरेको छ । दुई दशक अघि यी तीन जिल्लामा ६० हजार हेक्टरमा जुट खेती हुने गरेको थियो । ०५५÷०५६ मा नेपालभर कुल ७० हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा जुट खेती हुने गरेको थियो । प्रदेश १ कृषि निर्देशनालयका बरिष्ठ कृषि प्रसारक अधिकृत राजेन्द्र उप्रेतीले मोरङ,सुनसरी र झापा जिल्लामा हुने जुट खेती दुई दशकपछि आउँदा कुल क्षेत्रफलको १० प्रतिशतमा सिमिति बनेको बताए ।
अहिले यी तीन जिल्लामा कुल ६ हजार हेक्टर क्षेत्रफलमा मात्र जुट खेती लगाइने गरेको छ । जसमा मोरङ जिल्लामा ५३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टरमा जुट खेती हुने गरेको छ । ०५५÷०५६ सालमा मोरङ जिल्लामा मात्र करिब ३२ हजार हेक्टरमा जुट खेती हुने गरेको थियो । जुट खेतीबाट किसानहरु पलायन हुने क्रमसगै तीन जिल्लामा रहेका १ लाखको संख्यामा रहेका पोखरीपनि मासिएका छन । जुट प्रशोधनका लागि जुट कुहाउन प्रयोगका लागि ति पोखरी निर्माण गरिएका थियो ।जुट खेती मासिएपछि १ लाख वढी रहेका पोखरीपनि मासिएका हुन ।मोरङ,सुनसरी र झापा जिल्लामा ०४३÷०४४ सालबाट जुट खेती लगाउन थालिएको सरकारी तथ्याङ रहेको छ ।
जुट खेती मासिएपछि जुट उद्योग धरासायी प्रोत्साहन अभाव र लगानी नउठ्ने समस्या बढेपछि मोरङमा उत्पादन हुने जुटमा गिरावट आएसँगै ठूला जुट उद्योगहरु घरासायी भएका छन । मोरङ जिल्लामा रहेका ११ वटा जुट उद्योग मध्ये कच्चा पदार्थ अभावमा ६ वटा जुट उद्योग बन्द भएका छन ।अन्य सञ्चालनमा रहेका उद्योगपनि धरासायी बनेका छन । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले मोरङ,सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती हुदा खुलेका उद्योगहरु मुख्तया कच्चा पदार्थ अभावका कारण बन्द भएको बताए ।
‘जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै छ’ त्यसको प्रत्यक्ष मार मोरङ–सुनसरी औद्योगिक करिडोरका खुलेका जुट उद्योगमा परेको छ’ अध्यक्ष गोल्छाले भने ‘अहिले सबै उद्योगले आवश्य कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याउनु पर्ने अबस्था छ,जसका कारण भएकापनि जुट उद्योग नै बन्द हुने अबस्थामा पुगेका छन’ । कच्चा जुट अभावका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले भारत र बंगलादेशबाट जुट आयात गरेर वस्तु उत्पादन गर्दै आएका छन् । स्वदेशी कच्चा पदार्थ उत्पादनमा वर्षेनी कमी हुँदै गएपछि ठूलो लगानीका र धेरै मजदुरलाई रोजगारी दिने उद्योग समेत समस्यामा पर्दै गएका छन् ।कच्चा जुट अभावकै कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ६ जुट उद्योगले उत्पादन बन्द गरिसकेका छन् । करिडोरका पाँच उद्योगले समेत कच्चा जुट आयात गरेर उत्पादित वस्तुको निकासी गर्दै आएका छन् ।
जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन र उत्पादित बस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्न मात्र सक्दा पनि देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिने मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष एवं जुट उद्योगी प्रकाश मुन्दडाको भनाई छ । उनका अनुसार अहिलेपनि सुनसरी–मोरङका जुट उद्योगहरुमा १४ हजार मजदुर कार्यरत रहेका छन् । कुनैसमय यो संख्या ३० हजार थियो । वातावरणीय दृष्टिकोणले उत्तम मानिने कृषि उपज नगदेबाली जुटबाट उत्पादन भएको वस्तु प्रयोगमा अनिवार्यता नहुँदा नेपालमा यसको खपत समेत कम छ । जसका कारण भारत र बंगलादेशकाट कच्चा जुट आर्यात गरी उत्पादन गरेको जुटका सामाग्री ति उद्योगले आफनो उत्पादनको ९५ प्रतिशत भारत निकासी गर्ने गरेका छन ।
बार्षिक डेढ अर्व नेपाली रुपैया बिदेशिदै विगतका वर्षमा मोरङ,सुनसरी र झापामा उत्पादन भएका जुट भारतका साथै बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो । त्यसका साथै विराटनगरस्थित जुट मिलहरुले पनि अधिकांश मात्रामा खरिद गर्ने गरेका थिए ।तर अहिले ठिक उल्टो छ,अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्य कच्चा जुट भारत र बंगलादेशमा भर पर्नु पर्ने अबस्था छ ।नेपालमा जुट खेती मासिने क्रमसगै जुट उत्पादनमा गिरावट आएपछि जुट उद्योगहरु भारत र बंगलादेशमा भार पर्नु पर्ने स्थिती आएको हो । जुट उद्योगहरुले जुटको कच्चा पदार्थका लागि आवश्य कच्चा पदार्थ मध्ये ६५ प्रतिशत कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याउने गरेका छन ।जसका कारण बार्षिक नेपाली रुपैया जुटको कच्चा पदार्थ खरिदका लागि १ अर्ब ५० करोड रुपैया बिदेशिने गरेको छ । जुट उद्योग संघका मोहनचन्द्र घिमिरेले नेपाली उद्योगलाई आवश्य पर्ने जुट नेपालमा उत्पादन हुने जुटले धान्न नसकेपछि उद्योगीहरुले भारत र बंगलादेशबाट जुट खरिद गर्ने गरेका छन ।
घिमिरेका अनुसार बिराटनगरमा हाल संञ्चालनमा रहेका पाँच वटा जुट उद्योगले बार्षिक ६५ हजार मेट्रिक टन खपत गनर्ने गरेका छन ।त्यसमध्ये बार्षिय ४५ हजार मेट्रिक टन भारत र बंगलादेशबाट कच्चा जुट आर्यात हुने गरेको छ । नेपालको जम्मा १८ हजार मेट्रिक टन कच्चा जुट उद्योगले प्रयोग गर्ने गरेका छन । विराटनगरमा कुल ११ वटा जुट उद्योग रहेका थिए। त्यसमध्ये ६ वटा जुट उद्योग बन्द भईसकेका छन ।११ वटा जुट सञ्चालनमा रहदा बार्षिक १ लाख मेट्रिक टन जुट यी उद्योगमा खपत हुने गरेको थियो । अरिह्न्त मल्टी फाइवर्सका प्रबन्ध निर्देशन गोबिन्द बजगाईले आफनो उद्योगका लागि मात्र बार्षिक डेढ सय करोडको कच्चा जुट भारत र बंगलादेशबाट अर्यात गर्ने गरेको बताए ।उनले जुटको उत्पादनमा गिरावट आएपछि बार्षिक २६ हजार टन कच्चा जुट उद्योगमा खपत हुनेमा १८ हजार टन भारत र बंगलादेशबाट ल्याउने गरेको जानकारी दिए ।उनले नेपालमा उत्पादन भएको जुट ८ हजार टन मात्र खपत हुने जानकारी दिए ।
आर्थिक बर्ष २०७३÷०७४ मा मात्र रानी भन्सार कार्यालय र मेची भन्न्सर कार्यालयबाट ५१ करोड २९ हजार ६ सय ३६ रुपैयाको ५२ हजार २ सय १६ मेट्रिक टन कच्चा जुट आर्यात भएको छ । जसमा रानी भन्सारबाट १८ हजार ३ सय ९७ मेट्रिक टन र मेचीबाट ३३ हजार ८ सय १९ मेट्रिक टन कच्चा जुट आर्यात भएको छ ।