टेकराज बन्जरा
विराटनगर,चैत ४
जोगवनी–किमाथाङका जोड्ने ६ लेन सडकको निर्माण कार्य अहिले धमाधम भईरहेको छ । सो सडकको बरगाछीदेखि टंकीसिनवारीस्थित विराटनगर गेटसम्मको सडकखण्ड निमार्ण सम्पन्न गरी सञ्चालनमा आएको निकै समय भईसकेको छ । तर निर्माण कम्पनीले सञ्चालनमा आएको सडक छेऊको नालामाथि स्ल्याप नराखेका कारण आम सर्वसाधारण जोखिम मोल्न बाध्य छन् । बीचमै अपुरो निर्माण गरी छाडिएका नालाहरु पैदलयात्रुका लागि अहिले धराप बनिरहेका छन भने नाला फोहोर फयाक्ने डम्पिङ साइड बनेका छन् ।
निर्माणको ठेक्का पाएको भूमि कन्ट्रकसनले विराटनगर– ४ पिपलचौकमा नाला निर्माण गरेको २ वर्ष बितिसक्दा पनि नालामाथि स्ल्याप नराखेको पाईएको छ । लामो समयबाट सञ्चालनमा आएको सडकछेऊको नालामा स्ल्याप नराखिँदा नालामा बाहिरबाट फ्याँकिएको फोहोर भरिएर दुर्गन्धित हुनुका साथै आवतजावत गर्ने मानिस र त्यहाँका स्थानीयहरु जोखिम मोल्न बाध्य छन् । गर्मी मौसम सुरु भएसँगै दुर्गन्धित नालाका कारण रोग फैलिने त्रासपनि उतिकै बढेको छ ।
आवत जावत गर्ने मानिसहरुको कतिपय सामानहरु नालामा झरेको र नालामा परेर जुनसुकैबेला मानवीय दुर्घटना हुनसक्ने स्थानीय बताउँछन् । नाला गहिरो र फोहोर भएका कारण त्यहाँ अकस्मात केही बस्तु झरेमा निकाल्न सकिने अवस्था नरहेको उनीहरुको भनाई छ । अझ रातकोसमय मानवीय दुर्घटना हुनसक्ने सभावना बढी रहेको उनीहरुको भनाइ छ । यसबारे पटक–पटक सरोकारवालालाई जानकारी गराउँदा पनि पहल नगरेको उनीहरुको गुनासो छ । स्थानीयले नालामाथि स्ल्याप हालिदिन ठेकेदारलाई अनुरोध गर्दा वेवास्ता गर्ने गरेको बताएका छन् ।
लुगा धुलाईको काम गर्दै आएका स्थाननीय पप्पु रजकले नालामाथि स्ल्याप हालिदिन ठेकेदारलाई भन्दा आफ्नो कपडा धाईदिएमात्र स्ल्याप हालिदिने भनेको बताए । उनले आवतजजावत गर्ने मान्छेको नालामा धेरै सामान झर्ने गरेको बताए । त्यस्तै स्थाननीय उद्धव कोइरालाल नाला दुर्गन्धित भएका कारण वर्षायाममा रोग फैलिनसक्ने बताए ।नालामाथि स्ल्याप हाल्न धेरै ठाउँ गएको तर कसैले नसुनेको स्थाननीयहरु बताउँछन् । विराटनगर– ४ निवासी केदार पोखरेलले नालामा आवत जावत गर्ने मान्छेले फोहार फ्याँकेर भरिएको र वर्षायाममा नाला थुनिएर समस्या सिर्जना हुनसक्ने बताए । नालामा कतै सुख्खा फोहोर भरिएका कारण मुसाले भत्काउन थालेको छ भने कतै फोहोर कुहिएर दुर्गन्धित बनेको छ ।

फोहोर र नाला ब्यवस्थापनका लागि उपभोक्ताको हितका लागि आवाज उठाउने ब्यक्तिहरुले समेत विभिन्न स्थानमा पहल गरेपनि उपलब्धि शुन्य रहेको बताएका छन । उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पनि धरापका रुपमा परिणत भएका नालाको ब्यवस्थापनका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म पहल गर्दा पनि ति निकायले वास्ता नगरेको गुनासो गरे ।
निर्माण कम्पनीले भने सडक बनाउन आफुहरु लागेकोले कामदारको अभावमा निर्माण गर्न नसकिएको र आगामी एक महिना सम्ममा स्ल्याप हाल्न बाँकी रहेका ठाउँहरुमा स्ल्याप हालिने बताएको छ । सडक सञ्चालनमा आएको लामो समयसम्म पनि नाला नबनाउँदा मानवीय दुर्घटना हुनसक्ने जोखिम बढ्नुका साथै दुर्गन्धित नालाले वातावरण प्रदुषण सँगै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको छ ।