काठमाडौं । केहि वर्षभित्रै देशभरका ४० वटा शहरहरु स्मार्ट सीटीका रुपमा विकास हुँदैछन् । संघीय सरकारले तराई मधेश, पहाड र केहि हिमाली क्षेत्रमा गरि ४० वटा स्मार्ट सीटी निर्माणको काम अघि बढाएको हो ।
त्यसका लागि चालु आर्थिक वर्षमा १ अर्ब ९९ करोड बजेट खर्च गरिँदैछ भने आगामी आर्थिक वर्षका लागि २ अर्ब बजेटको सिलिङ प्राप्त भएको छ । यी स्मार्ट सीटी तथा नयाँ शहरहरुमा आधुनिक पूर्वाधार, सूचना प्रविधि, मनोरञ्जन, खुल्ला क्षेत्र, बगैँचा, खेलकुद मैदान, एकिकृत सार्वजनिक सेवा प्रणाली लगायतका अत्याधुनिक सुविधा विकास गरिने शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।
मन्त्री राईका अनुसार पहिलो चरणमा रुपन्देहीको लुम्बिनी स्मार्ट सीटी, गोरखाको पालुङटार र बाराको निजगढ स्मार्ट सीटीको काम अघि बढेको छ । यी स्मार्ट सीटीहरुको हाल धमाधम डीपीआर निर्माण भैरहेको छ । दोश्रो चरणमा भने धनकुटाको धनकुटा स्मार्ट सीटी, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेको काभ्रे उपत्यका, चितवनको भरतपुर, स्याङजाको वालिङ, दाङको तुल्सिपुर, दैलेखको दुल्लु, डढेलधुराको अमरगढी र कैलालीको टिकापुरमा स्मार्ट शहर निर्माण हुँदैछ ।
त्यस्तै, मध्य पहाडी लोकमार्गमा १२ वटा नयाँ शहरको काम पनि धमाधम अघि बढिरहेको छ । प्रदेशमा हस्तान्तरण गरिएका यी शहरहरु मंसिर ३ गते पुनः केन्द्र सरकारमा तानिएका हुन् । मध्य पहाडी लोकमार्गमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्काेट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे–भन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम–कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरिगंगा र प्युठानको भिंग्री नयाँ शहर निर्माणको काम अघि बढाईएको हो । यी शहरहरुको पनि अध्ययनको काम अघि बढिरहेको छ ।त्यस बाहेक, हुलाकी लोकमार्गमा झापादेखि कञ्चनपुरसम्म १० वटा नयाँ शहरको अध्ययन धमाधम भैरहेको छ । जसमा झापामा गौरीगञ्ज, मोरङमा रंगेली नयाँ शहर, महोत्तरीमा मनरा नयाँ शहर, रौतहटमा मौलापुर नयाँ शहर, सर्लाहीमा ब्रम्हपुर नयाँ शहर, बारामा गढीमाई नयाँ शहर, नवलपरासीमा बर्दघाट नयाँ शहर, बर्र्दियामा राजापुर, कैलालीमा भजनी र कञ्चनपुरमा बेलैरी नयाँ शहर रहेका छन् ।
तराई मधेशका बिभिन्न जिल्लामा थप ५ वटा नयाँ शहरको काम अघि बढेको छ । जसमा सप्तरीको शम्भुनाथ नयाँ शहर, महोत्तरीको बलवा नयाँ शहर, सर्लाहीको इश्वरपुर नयाँ शहर, रौतहटको कटहरिया नयाँ शहर र दाङमा गढवा नयाँ शहर रहेका छन् ।
यस्ता हुनेछन् बिशेषता
स्मार्ट सीटीहरुमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ व्यवस्था निर्माण हुनेछन् । यी सीटीहरुका लागि ३० वटा पक्ष र १२५ वटा सूचक निर्धारण गरिएका छन् ।
शहरी विकास सचिव रमेश कुमार सिंहले विश्वका स्मार्ट सीटीहरुको अध्ययन गरेर नेपाली मौलिकतामा आधारित स्मार्ट सीटीको मापदण्ड तयार पारिएको बताए । ‘हामी युरोप र अमेरिकाका स्मार्ट सीटी जस्तो बनाउन सक्दैनौं, त्यहाँका राम्रा कुरा समेटेर मौलिक प्रकृतिका स्मार्ट सीटी बनाउन चाहेका हौं’, सचिव सिंहले भने ।