साउन २०, काठमडौं । ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीस चुरामन खड्काको एकल इजलासले बिहार सितामणी स्थायी घर भई हाल पीडितको घर छेउ डेरा गरी बस्ने किशोर दासविरुद्ध उक्त कसुरमा यस्तो सजाय सुनाएको हो ।
इजलासबाट उक्त कसुरमा कैद सजाय निर्धारणका साथै पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने आदेश भएको अदालतका श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले बताए।
महालक्ष्मी नगरपालिका–९, लामाटारमा घटेको घटनाअनुसार गत साल(२०७५) चैत्र २२ गते साँढे १२ बजेतिर पीडक दासले पीडितको घरमा कोही नभएको बेला १७ वर्षीया बालकलाई ललाईफकाई यौन दुराचार गरेका थिए ।
सानैदेखि अपांगता भएका उनी बोल्न र लेखपढ गर्न समेत नसक्ने परिवारले बताएको छ । उनलाई पटकपटक गरी ५ पटकसम्म दुराचार गरेको दासले अदालतसामु स्विकारेका थिए । घर बनाउने मिस्त्री काम गर्दैआएका उनले पीडितको घरमा प्लाष्टर गर्ने काम गरेदेखि नै यस्तो दुराचार गर्दै आएको स्विकारेका थिए ।
२०÷३० देखि दुई सय रुपियाँसम्म दिएर यस्तो कार्य गर्ने गरेका दासले अरुलाई सुनाए मार्नेसम्मको धम्की दिएका थिए । पीडित बालकले दासको व्यवहारले आफ्नो मलद्वार र छाती बेस्सरी दुखेको कुरा आमासँग भनेपछि यो घटना बाहिर आएको थियो ।
दासले महानगरीय प्रहरी वृत्त, सातदोबाटोले अनुसन्धानका क्रममा बयान लिँदा यौनतृष्णा मेटाउन सो कार्य गरेको बताएका थिए ।
यौन दुराचारी दासले गरेको उक्त कसुर मुलुकी अपराध संहिता, २०७४ को दफा २२६ को उपदफा (१) र उपदफा (३) तथा दफा २१९ को उपदफा २ (ग) र उपदफा (३) को (घ) बमोजिम देखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले सोही बमोजिमको सजायको मागदाबी गरेको थियो । ऐनको दफा २२६ मा अप्राकृतिक मैथुन गर्न नहुने उल्लेख गरिएको छ । यस कसुरमा संलग्नलाई दफा २१९ बमोजिम सजाय हुने व्यवस्था छ ।
दफा २१९ को उपदफा २ (ग) मा गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा जवर्जस्ती करणी गरेको मानिने उल्लेख छ । यस्तो कसुर गर्नेलाई दफा २१९ को उपदफा (३) (घ) बमोजिम सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेर भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद हुने उल्लेख गरिएको छ । नेपाल समाचारपत्र

