साउन २२, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।
बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ ।
सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ । दिउँसो सवा १ बजेसम्म ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको डीएसपी बोगटीले जानकारी दिए ।

