३२ साउन,विराटनगर ।
बेग्लाबेग्लै बिधाका तीनजना श्रजकहरुको कृति शनिबार विराटनगरमा एकैसाथ विमोचन गरिएको छ । गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’,गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ शिर्षकको तीन वटा कृति एकै साथ विमोचन गरिएको हो ।
प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानीय परोपकार सामुदायिक भवनमा आयोजना गरेको संयुक्त विमोचन समारोहकाबीच ती कृतिहरुको विमोचन गरिएको हो । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे,प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्राज्ञ दधिराज सुवेदी र प्राज्ञ विवश पोखरेलले संयुक्तरुपमा कृतिहरुको विमोचन गरे ।
नाच जुरेलीमा २० वटा र बालुन भजन संग्रहमा २२ वटा रचनाहरु समेटिएका छन् । यस्तै विमोचित उपन्यासमा देशभक्ति र सामाजिक मनोभावसंग जोडिएका बिषयबस्तु समेटिएको साहित्यकार दिनेशराज सुवेदीले जानकारी दिए ।
कार्यक्रममा संस्कृतिसंग जोडिएको बालुन गीती नृत्य समेत प्रस्तुत गरिएको थियो । झलकरमण नेपाल,खेमराज नेपाल र गोबिन्द ओझा लगायतको समूहले गीती नृत्य प्रस्तुत गरेको थियो ।