७ असोज, चितवन ।
भरतपुर महानगरपालिका–४ नारायणगढमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको छ ।
मंगलबार सबेरै परेको लगातारको चट्याङपछि कागजका कार्टुनहरु उत्पादन गर्ने सो कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताए । कारखानाका सञ्चालक भद्रनारायण पियाले बिहान पौने तीन बजेतिर आगलागीको खबर पाएको जानकारी दिए ।
आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूला रोलहरु सबै नष्ट गरेको छ । चट्याङकै कारण आगलागी भएको सञ्चालक पियाको अनुमान छ ।
भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकल तथा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन ।

