७ असोज, काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने १ सय ९५ कम्पनीको नाम सार्वजनिक गर्दै ३० दिनको म्याद सहितको सूचना निकालेको छ ।
प्राधिकरणले विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिसँग असुल गर्नुपर्ने दुई अर्ब रुपैयाँ बक्यौता बुझाउन आग्रह गरेको छ । हाल बन्द भइसकेका वायुसेवा कम्पनी, ट्राभल, टूर तथा विभिन्न कम्पनीबाट बक्यौता रकम उठाउन नसकेपछि प्राधिकरणले रकमसहित सार्वजनिक गरेको जनाएको छ ।
नेपाल नागरिक उड्डयन र अन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालयबाट ६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँ ३१ पैसा बराबरको रकम उठाउन बाँकी रहेको छ ।
प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र रकम बुझाउन कम्पनीहरुलाई समय तोकिएको छ । तोकिएको समयमा पनि बक्यौता नतिरे कानून अनुसार कारवाही प्रक्रिया थाल्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
विगतमा सञ्चालनमा रहे पनि अहिले बन्द भइसकेका वायुसेवा कम्पनीको बक्यौता बढी देखिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी एयर एसियाको बक्यौता छ ।
नेपाल उडान रद्द गरिसकेको यो कम्पनीले कूल १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ प्राधिकरणलाई तिरेको छैन । प्राधिकरणले डेडिकेटेट फिडर अन्तरगतको नौ अर्ब रुपैयाँ पनि असुल गर्न बाँकी रहेको छ ।

