२६ असोज, काठमाडौं ।
सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो संतोषजनक वृद्धि भएको जनाएको छ । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो ।
उक्त प्रक्षेपणअनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल छ । विश्व बैंकका अनुसार त्यसपछिका वर्षहरुमा भने आर्थिक वृद्धिदर केही घट्नेछ । नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ ।
दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर बंगलादेशले हासिल गर्ने देखिएको छ । सन् २०१९ मा बंगलादेशले ८.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकले प्रक्षेपण गरेको हो । त्यसपछिका वर्षमा भने बंगलादेशको आर्थिक वृद्धिसमेत क्रमशः घट्ने अनुमान छ ।
स भेगमा सबैभन्दा कम आर्थिक वृद्धि भने अफगानिस्तान, श्रीलंका र पाकिस्तानको रहने अनुमान छ । दक्षिण एसियामा समग्र ५.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । भारतको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरिएको छ ।
नेपालमा खासगरी सेवा क्षेत्रमा भएको सकारात्मक वृद्धिले आर्थिक वृद्धिदरलाई सहयोग गरिरहेको विश्व बैंकको भनाइ छ । निर्माण क्षेत्रमा समेत निकै राम्रो प्रगति भइरहेको बैंकले उल्लेख गरेको छ ।

