काठमाण्डौ, ७ असोज
सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु
भएको छ । नेता सिंहले प्रधानमन्त्री देउवाकै कारण स्थानीय तहको निर्वाचनमा
पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको आरोप समेत लगाउनु भयो । उहाँले
देउवा पार्टीलाई होच्याएर प्रधानमन्त्री बनेको दावी समेत गर्नु भयो । नेपाली
काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले आज दसैंको अवसर पारेर आयोजना
गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र
लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन नभएका कारण स्थानीय तहको धेरै सिट
काँग्रेसले गुमाउनु परेको पनि उल्लेख गर्नु भयो । काँग्रेस नेता सिंहले
पार्टीलाई विधिसम्मत ढंगले चलाउन पनि पार्टी सभापति देउवासँग माग गर्नु भयो
।