बेइजिङ, १४ कात्तिक
चीनले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरी सहभागी हुने विश्वास व्यक्त गरेको छ । जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एक जना वरिष्ठ कुटनीतिज्ञले मङ्गलबार विश्वास व्यक्त गर्नु भएको हो ।
“चीनले जलवायु परिवर्तनका वारेमा अमेरिकासँगको सहकार्य बढाउँदै लैजान चाहेको छ,” जलवायु परिवर्तन सम्वन्धी चीनियाँ विषेश दूत सि झेन्हुअले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।
पेरिस सम्झौतामा विश्वका सवैजसो देशहरुले सन् २०१५ मा हस्ताक्षर गरेका छन् । उनीहरुले हरितगृह ग्याँस उत्सर्जन कम गर्ने, तापक्रम बढ्ने क्रमलाई घटाउदै लैजाने लगायतका प्रतिवद्धता पनि गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरराष्ट्रिय यस प्रतिवद्धतामा अमेरिका सहमत नरहेको गत जुनमा बताउनु भएको थियो ।
जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता)बाट आफू हट्ने जानकारी संयुक्त राष्ट्र संघलाई दिनु भएको थियो ।
सम्झौतालाई नमान्ने ट्रम्पको निर्णयको विश्वसमुदायले आलोचना गरेको थियो । यही सन्दर्भमा चीनिया अधिकारीले अमेरिकाले यस विषयमा पुनःविचार गरेर सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको हो ।
रासस