काठमाडौं, कात्तिक २०
भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ ।
सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिनुभएको छ ।
ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आउनुभएको छ ।
घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।
विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गर्नुभएको छ ।