Nepal Times
Nepal Times
3
Shares

नेपाली शान्ति सैनिक माली र सेन्ट्रल अफ्रिका प्रस्थान गर्दै

नेपाली शान्ति सैनिक माली र सेन्ट्रल अफ्रिका प्रस्थान गर्दै

२२ असार, काठमाडौं ।

नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा ती मुलुकमा तीन महिना अघि नै खटिई जानुपर्ने शान्ति सैनिक कोभिड–१९ कै कारण रोकिन परेको थियो । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उक्त विमानमा सेन्ट्रर अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनीयरको प्राविधिक टोली जानेछ । जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्को टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ ।

सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्को शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ । सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ । पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ ।

नेपाली सेनालाई ४३ मिसनको अनुभव

विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पु¥याइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका १२ मिसनमा रही तत् देशमा शान्ति स्थापनार्थ पाँच हजार ९१ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिकमा खटिने महिला सैनिकको सङ्ख्या हाल १८० जना छ ।

नेपाल प्रहरीका २३९ र सशस्त्र प्रहरी बलको ३४६ को सङ्ख्यामा जनशक्ति विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिरहेको छ । त्यसरी खटिने क्रममा हालसम्म ६८ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ सैनिक गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ ।

अहिले शान्ति सैनिक धेरै पठाउने मुलुकको सूचीमा नेपाल चौँथो वरियतामा छ । संयुक्त राष्ट्रसङ्घलाई नेपालले १० हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको छ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि गरेको योगदानका आधारमा फोर्स कमाण्डरलगायत उच्चतहको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आएको छ । पछिल्लो समय नेपाली सेनाका उपरथी ईश्वर हमालले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । उनी उक्त पद प्राप्त गर्ने नेपाली सेनाका छैटौँ उच्च अधिकृत हुन् ।रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.