Nepal Times
Nepal Times
3
Shares

सर्वदलीय बैठक –आचारसंहिता पालनामा जोड

सर्वदलीय बैठक –आचारसंहिता पालनामा जोड

विराटनगर, २१ कात्तिक
मोरङ जिल्लामा रहेको मतदानस्थलमा मतदान कार्यमा सहजता ल्याउन आवश्यक भौतिक सामग्री व्यवस्था गर्न तथा आचारसंहिता पालना गर्न आज यहाँ आयोजित सर्वदलीय बैठकले सहमति जनाएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयद्वारा आयोजित सर्वदलीय बैठकले सहभागी राजनीतिक दलका प्रतिनिधिले छोटो दिन भएकाले बत्ती व्यवस्था गर्न, मतदानस्थलमा आवश्यक टेण्ट तथा फर्निचरको व्यवस्था गर्न र विद्यालयमा थुपारिएका निर्माण सामग्री हटाउन स्थानीय निकायलाई आग्रह गर्ने भएको छ ।

यस्तै कतिपय सामुदायिक विद्यालयको मतदानस्थल ज्यादै नै साँघुरो भएकाले सोही स्थललाई केन्द्र मानी नजिकै केन्द्र थप गर्नका लागि निर्वाचन कार्यालयले केन्द्रमा पत्राचार गर्ने भएको छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले राजनीतिक दलले संवेदनशील मतदान स्थानमा स्वच्छ, स्वतन्त्र र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आचारसंहिता पालना गर्न आग्रह गर्दै स्थानीय प्रशासन मतदान कार्य भयरहित वातावरण सम्पन्न गर्न आफूले सुरक्षाको प्रत्याभूति दिने दृढता व्यक्त गर्नुभयो ।

सर्वदलीय बैठकमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले विभिन्न राजनीतिक दलका प्रतिनिधिको स्थानीय पत्रपत्रिकामा प्रकाशित हुने समाचारको समेत अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन – पत्रकार प्रशिक्षण

क्षेत्रीय निर्वाचन कार्यालयले प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ निर्वाचन र संचार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण शुभारम्भ गर्दै कार्यालय प्रमुख सञ्जेलले निर्वाचनमा खटिने कर्मचारी दलप्रति आबद्ध भएर काम गरेमा कारबाही गरिने बताउनुभयो ।

उहाँले गत असारमा भएको स्थानीय तह निर्वाचनमा भएको कमी कमजोरीलाई सुधार गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयोे ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलले पत्रकारले आचारसंहिताको पालना गर्दै सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

प्रशिक्षणमा मोरङ जिल्लामा कार्यरत ६० पत्रकारको सहभागिता थियो ।

मतदान र मतगणना प्रशिक्षण

आगामी मंसिर १० र २१ गते हुन लागेको संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान प्रक्रिया र मतगणनालाई सहज र सरलरूपमा सम्पन्न गराउन क्षेत्रीय प्रशिक्षक प्रशिक्षण गरिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित दुई दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागीलाई तीन मतपत्र चार छाप, मतदान प्रक्रिया, मतदानस्थल व्यवस्थापन, मतगणनाको तरिकाबारे प्रशिक्षण दिइनेछ ।

प्रशिक्षकले सम्बन्धित जिल्लामा गएर मतदान अधिकृत र मतगणना अधिकारीलाई प्रशिक्षण दिएपछि निर्वाचनका लागि मतदानस्थल जानेछन् । मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सजिलो र सहज निर्वाचन प्रक्रिया अपनाए मात्र निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने बताउनुभयो ।

उहाँले मतदान सामग्री व्यवस्थापन र मतदाता शिक्षालाई प्रभावकारी बनाउनुका साथै मतगणनालाई छिटो छरितो सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रशिक्षणमा एक नम्बर ११ र दुई नम्बर प्रदेशको सप्तरी गरी १२ जिल्लाका ६१ प्रशिक्षक प्रशिक्षार्थी सहभागी छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.