Nepal Times
Nepal Times
3
Shares

आत्महत्या

आत्महत्या

आत्महत्या शब्द सुन्दै जिउ सिरिङ्ग हुन्छ । आखिर के हो त आत्महत्या भनेको? आत्महत्यालाई मानिसको निजी स्वभाव र उसको मस्तिष्कको एक विशिष्ट अवस्थाबाट सिर्जित कार्यका रूपमा बुझ्ने गरिन्छ । सामान्यता आत्महत्या भनेको आफ्नो ज्यान आफैँ लिनु हो। अरु भाषामा भन्नु पर्दा आत्महत्यालाई आत्मघात अथवा जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम हो। कसैको दबाबमा परेर वा आफ्नो खुशी पनि आत्महत्या गरिने गरिन्छ। समाज शास्त्री दुर्खेइम (Durkheim) का अनुसार आत्महत्या भनेको यस्तो नतिजा उत्पन्न गर्नु हो जसमा मृत्युको प्रत्येक घटना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सकारात्मक वा नकारात्मक स्वरुप पीडितले आफैँले प्रदर्शन गरेको हुन्छ। उनका अनुसार मानिसले विशेषत ३ कारणले आत्महत्या गर्ने गर्छन् । पहिलो कुनै व्यक्ति समाजमा एकीकरण हुन नसकेर एक्लोपनले गर्दा आत्महत्या गर्ने गर्छन् जसलाई एगोइस्तिक सुइसाइद (Egoistic Suicide) भनिन्छ । त्यस्तै दोस्रो मानिसहरुले आत्महत्या अरूलाई बचाउन वा अरूलाई फाइदाको लागि, समूहको भलाइको लागि, वा समाजको परम्परा र सम्मान संरक्षणको लागि गर्ने गर्छन् जसलाई अल्त्रुइस्तिक सुइसाइद(Altruistic Suicide) भनिन्छ । त्यस्तै व्यक्तिले अत्यन्तै तनावपूणर् अवस्थाको सामना गरिरहँदा, साथै ब्यक्तिमा भ्रम र निराशाको भावनाले भरिएको बेला त्यही कारणले यदी उस्ले आत्महत्या गर्छ भने त्यस्लाई अनोमिक सुइसाइद(Anomic suicide) भनिन्छ।

आत्महत्या नेपाल लगायत विश्वको हरेक मुलुकहरूमा बढदै गइरहेको छ। नेपालको पछिल्लो ४ वर्षको तथ्याङक हेर्ने हो भने आर्थिक वर्ष २०७२/७३ मा ४ हजार ६ सय ८० जनाले आत्महत्या गरेका छन। त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ , २०७४/७५ मा ५ हजार ३ सय २७ त्यस्तै २०७५/७६ मा ३ हजार २२ जनाले आत्महत्या गरेका छन् । प्रहरी तथ्याङ्क र अनुमानका आधारमा विश्व स्वास्थ्य संगठनले नेपाललाई विश्वको ७ औं सर्वाधिक आत्महत्या दर ( २४.९ प्रती १ लाख ) भएको देशको रुपमा राखेको छ । विश्व स्वास्थ्य संगठनको अनुसार १५ देखि ४५ वर्षका महिलाहरुको मृत्युको मुख्य कारण आत्महत्या रहेको छ ।

विश्व कोभिड १९ अर्थात कोरोना भाईरसका कारण आक्रन्त बनिरहेको छ। यो लेख लेखिरहँदा सम्मको डाटा अनुसार विश्वमा १ करोड ३६ लाख ९६ हजार ८१३ जना कोरोनाबाट सङ्क्रमित भै सकेका छन् भने ५ लाख ८६ हजार ८८५ जनाको दुःखद निधन भै सकेको छ। चीनको वुहानबाट डिसेम्बर अन्तिमबाट सुरु भएको कोभिड१९ अर्थात कोरोना भाईरसले आज विश्व आक्रन्त पारिरहेको छ। विश्व स्वास्थ्य सनंगठनले सन २०२० मार्च ११ मा विश्व महामारीको रुपमा यसलाई घोषणा गर्यो। नेपालमा पहिलो कोभिड१९ को सङ्क्रमित जनवरी २३ मा वुहनबाट फर्केको ३१ वर्षिय युवालाई सङ्क्रमण पुष्टी भएको थीयो। विश्व लकडाउनमा पसिसकेको थियो । विश्व सँगै नेपाल सरकारले पनि सन २०२० मार्च २४ देखी लक डाउन घोषणा गर्यो । जुन केही खुकुलो भएपनि अझै जारी छ । यो अवधिमा मात्रै नेपालमा १८ सय जनाले आत्महत्या गरेका छन् । ३ महिनाको अवधिमा यो दर डरलाग्दो तथ्याङ्क हो । नेपालमा आत्महत्या सम्बन्धी एक अध्ययनले नेपालमा वर्षेनी ८-१० प्रतिशतले बृद्दी भएको देखाएको छ। लक डाउनको अवधिमा दैनिक करीब १६ जनाले आत्महत्या गर्ने गरेको तथ्यङ्कले देखाएको छ। लकडाउन अवधिमा मात्रै झुण्डिएर १४ सय ९७ जनाले आत्महत्या गरेका छन भने विष खाएर २ सय ६५ जनाले ,आगो लगाएर २ जनाले, भिरबाट हाम्फालेर ११ जनाले र हतियार प्रयोग गरेर ७ जनाले आत्महत्या गरेका छन। लक डाउनको अवधिमा ९ सय ५४ जना पुरुष र ६ सय ४९ जना महिलाले आत्महत्या गरेका छन्। पछिल्लो ३ महिनाको अवधिमा मात्रै १ सय ७२ जना बालबालिकाहरुले आत्महत्या गरेका छन्।

“मानसिक रोग र आत्महत्याको सम्बन्ध“
विश्व स्वास्थ सङ्गठन(WHO) का अनुसार आत्महत्या गर्ने ९० प्रतिशतमा मानसिक रोग रहेको पाइएको छ। मानसिक रोग आत्महत्याको लागि एक प्रमुख जोखिम कारक रहेको छ जस्तै डिप्रेसन , द्विध्रुवी विकार ,स्किजोफ्रेनिया आदि। पछिल्लो तथ्याङ्क हेर्दा ७०/७५ प्रतिशत घटना डिप्रेसनका कारण हुने गरेको देखिएको छ। मानसिक स्वास्थ्यमा आएको विभिन्न समस्याका कारण आत्महत्याका घटनामा पनि वृद्धि भैराखेको नेपाल प्रहरीको तथ्याड़कले देखाएको छ।

Depression (डिप्रेसन)
डिप्रेसन र डिप्रेशन रोगहरू मेडिकल क्षेत्रमा मूड डिसअर्डरको रूपमा वर्गीकृत गरिएको छ, साथै प्रमुख उदासी देखि डिस्टिमिया सम्म सबै किसिमको लक्षणहरु देखिन्छ। उनिहरूसँग भएका अन्य धेरै लक्षणहरूले मानिसहरूलाई सामाजिक, व्यवसायिक, शैक्षिक, अध्यारोपनात्मक, आदि प्रभावित गर्दछ। हाम्रो मस्तिष्कका स्नायुहरूले एक अर्कालाई छुदैनन्, बरु न्यूरोट्रान्समिटर भनिने रसायनहरूको माध्यमबाट सन्देशहरू एक देखि अर्कोमा पठाउँछन्। अर्को स्नायुमा सहि समान सन्देश पठाउन हामीलाई नसिकाहरू बीचको यो रसायनको सहि मात्रा मात्र चाहिन्छ। यदि त्यहाँ पर्याप्त रसायनिक मात्रा छैन भने, सन्देश सही रूपमा पास हुने छैन र यस अवस्थामा, डिप्रेसन वा डिप्रेसनरी बिरामीको नतिजा हुन सक्छ । जसको कारणले उचित भविष्य सोच्न नसकेर कुनै ब्यक्तिले आत्महत्याको बाटो रोज्ने गर्छ।

Bipolar Disorder  (द्विध्रुवी विकार)
द्विध्रुवीय डिसअर्डर, म्यानिक(डिप्रेशनल बिमारीको रूपमा पनि चिनिन्छ, एक मस्तिष्क विकार हो जुन मुड, ऊर्जा, गतिविधि स्तर, र दिन-प्रतिदिन कार्यहरू गर्न क्षमतामा असामान्य परिवर्तन गर्दछ। द्विध्रुवी विकार लक्षण हुनेले पनी आत्महत्याको बाटो रोजेको देखिन्छ ।

Schizophrenia (सिजोफ्रेनिया)
स्किजोफ्रेनिया एक व्यक्ति सोच्ने तरिका, विकृत, वास्तविकता बुझ्ने, भावनाहरू व्यक्त गर्ने र अरुसँग सम्बन्ध गर्ने तरिकालाई विकृत बनाउँछ। यो एक आजीवन रोग हो जुन निको हुन सक्दैन तर प्रायस् सहि उपचारको साथ नियन्त्रण गर्न सकिन्छ। स्किजोफ्रेनियाको गम्भिरता व्यक्तिबाट अर्कोमा फरक हुन्छ।

PTSD (पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर)
एक तनाबपुणर् घटना वा असाधारण प्राकृतिक प्रकोपको अनुभव वा साक्षी भएको मानिसहरुमा हुने गर्दछ ।

                  यी यावत मनोबैज्ञानिक रोगले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गरेका छन् । यि रोगहरुको कुनै उपचार छैन भन्ने कुरा चाँही भ्रम हो । केही रोग पूणर् रुपमा निको गर्न सकिदैन तर यसलाई नियन्त्रण गर्न सकिन्छ । मानसिक समस्याको समाधान र आत्महत्या रोकथाम सम्भब छ । यसको लागि विभिन्न मनोविद् हरुले केही सुझाव सुझाएका छन। त्यी केही सुझावहरु :

१.नियमित ब्यायाम, योग, प्रणायम तथा ध्यान गर्ने।

२.मदिरा तथा लागुपदार्थ सेवन नगर्ने।

३.परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचार गर्न लग्नु पर्दछ।

४. धेरै जसो आत्महत्या योजनाबद्ध हुनेहुनाले नजिकैको आफन्तले ख्याल गर्ने।

५.कुनै पनि व्यक्तिमा मनोरोगका लक्षणहरूको समयमै पहिचान, उपचार र पुनःस्थापन भएमा धेरैजसो आत्महत्याको सम्भावना कम हुनसक्छ।

               मानसिक रोग बाहेक पनि मनिसहरुले आत्महत्याको बाटो रोज्ने गर्दछन। जस्तै कसैको दवाबमा आएर वा कसैले दुरुत्साहन गरेर पनि आत्महत्या गरेको तथ्यङ्क देखिन्छ। कसैले कसैको दुरुत्साहनले गर्दा आत्महत्या गरेको छ भने नेपालमा त्यसलाई कानुनी रुपमा अपराध मानिएको छ। मुलुकी अपराध संहिताको २०७४ को दफा १८५ ले यसलाई अपराधीकरण गरेको छ। आत्महत्या दुरुत्साहन भनेको कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने हो जुन दफा १८५ को उप दफा १ मा लेखिएको छ। त्यस्तै उप दफा २ ले उपदफा १ अनुसार कसैले कसुर गरेमा ५ वर्ष सम्म जेल र पचास हजार सम्म जरिवाना हुने कुरा उल्लेख गरेको छ।

आत्महत्याको अन्य केही कारणहरु :
१.रक्सी वा अन्य लागुजन्य पदार्थको अत्यधिक सेवन
२. कानुनी वा अनुशासनात्मक समस्या
३.अत्यधिक आर्थिक नोक्सानी
४. असफल प्रेम वा बिबाह जीवन
५. परिवारको सदस्य वा नजिकको साथीको हालै मृत्यु
६. जीवनप्रतिको अवमूल्यन

विभिन्न अध्ययनले मनिसहरुले आत्महत्या गर्नुपुर्व के कस्तो लक्षणहरु देखाउँछन् भन्ने कुरा पत्ता लागेको छ। केही त्यस्ता लक्षणहरु :
१. अत्यन्त धेरै वा कम सुत्ने
२. धेरै चिन्तित वा उत्तेजित हुने
३. एकान्तमा बस्न रुचाउनु
४.सिथिल हुनु, एकाग्र हुन नसक्नु
५. मृत्युको बारेमा सोच्नु वा कुरा गरिरहनु
६. रक्सी वा अन्य लागुजन्य पदार्थको अत्यधिक सेवन
७. सामाजिक कार्यमा सहभागी हुन नचाहनु वा कोहिसंग बोल्न आवश्यक नठान्नु पनि आत्महत्याको लक्षण रहेको छ।

३ महिनाको अवधिमा मात्र १७२ जना बालबालिकाहरुले आत्महत्या गरेका छन। केही मनोविदका विश्लेषण अनुसार यो सङ्ख्या बढ्नुमा सबै भन्दा धेरै भूमिका सामाजिक सन्जाल, टेलिभिजन र यो समयमा बालबालिकाको हुर्काइमा आउने कमिका करणले हो। त्यसैले पनि अहिले बालबालिकाहरुलाई उचित हेर्चाह गर्ने, बालबालिकाहरुलाई सामाजिक सन्जालका नकारात्मक पक्षबाट टाढा राख्ने र बालबालिकाहरुलाई विशेसत खेलका माध्यमबाट हुन्छ या अन्य अरु कुनै माध्यमबाट हुन्छ मनोरन्जन दिलाउने खाल्को कृयाकलाप गराइ बाल मनोविज्ञानलाई सही दिशा तर्फ लग्न निकै जरुरी रहेको छ।

असार १८ दाङ जिल्ला तुलसीपुरकि एलिसा गौतमले सामाजिक संजाल फेसबुक लाइभ आएर आत्महत्या गरेको भिडियो,त्यस्तै असार २१ गते चितवनकी १९ वर्षिय युवतीले फेसबुकमै लाइभ आएर आत्महत्या गरेको भिडियो सार्वजनिक भएको थियो। यसरी सामाजिक सन्जालमा लाइभ गरेर आत्महत्या गर्ने घटनाले समाजमा भय सिर्जना गर्दैछ। जसरी सामाजिक सन्जालमा यस्ता भिडियोलाई सन्सनी बनायौँ । यस्ता घटनाले समाजमा घ्रिणा,द्वेष फैलाउछ भने विभिन्न मानसिक पिडामा भएका व्यक्तिहरुलाई आत्महत्याको बाटो रोज्न प्रोत्साहन गर्छ । यस्ता किसिमको घटनाले समाजमा सिको गर्नेको सङ्ख्या पनि बढाउदै लग्छ। यस्तो किसिमको घटना सार्वजनिक शिस्टाचार विरुद्द पनि रहेको छ। आत्महत्या रोकथामका लागि यस्तो कार्य रोक्न निकै जरुरी रहेको छ।

नेपाल सरकारले दिगो बिकास लक्ष्यमा मानसिक स्वस्थ्यलाई प्रमुखतामा राखेको छ। बिकास लक्ष्य अनुसार नेपालले आत्महत्यालाई सन् २०३० सम्ममा प्रतिलाख जनसंख्यामा १६.५ देखि घटाएर ४.२मा लैजाने प्रतिबद्धता गरेको छ। आत्महत्या घटाऊने गरी बिकास योजना ल्याएता पनि सरकारले आत्महत्या रोकथामका लागि खासै कदमा चालेको देखिदैन। आत्महत्या एक जनस्वास्थ्यको गम्भीर सवाल भएकाले नेपाल सरकारले प्राथमिक स्वास्थ्य सेवा अन्तर्गत रोकथाममूलक कार्यक्रम ल्याउनु पर्दछ। सरकारले सबै बर्गका मानिसहरुमा मानसिक स्वास्थबारे जाग्रुक गराउनु पर्दछ। विश्व स्वास्थ्य संगठनको एक रिपोर्टले साधनमा प्रतिबन्ध गर्दा आत्महत्याको दरमा कमी आएको बाताएको छ तर त्यो नेपालको लागि अलीक असम्भबको बिषय छ।

प्रभावकारी मानसिक स्वास्थ्य हेरचाहका लागि सरकारले उचित कदमा चाल्न निकै जरुरी रहेको छ। मनिसहरु जो मानसिक रुपले अशक्त छ अथवा जो व्यक्तिलाई मनोविद्को आवश्यकता छ उसलाई उचित परामर्श दिन विभिन्न सेवको उचित प्रवर्द्धन गर्न पनि आवश्यकता रहेको छ । विभिन्न संघसस्था जसले स्वास्थ्य परामर्श दिरहेको जस्तो कोशीस भन्ने सस्था, उनिहरुसँग जो व्यक्ती जसलाई परामर्श चाहिएको छ उनिहरु पहुच पुर्याउन आमा संचारमाध्यमहरुले पनि उचित भूमिका खेल्न निकै जरुरी रहेहो छ। नेपाल सरकारले पनि विभिन्न पाठ्यक्रमहरुमा पनि आत्महत्या बारे जनचेतना फैलाउने खालका पाठ्यक्रम बिकास गर्न निकै जरुरी रहेको छ।

सरकारी निकायमात्र नभएर हामी स्वयमले पनि यसको रोकथामका लागि भूमिका खेल्न सक्छौँ। यदि कसैले उनीहरूले आत्महत्या गर्ने विचार गरिरहेको कुरा कतैबाट थाहा पाइयो भने अथवा उनिहरुले आत्महत्या गर्ने लक्षण देखाएका छन भने उनिहरुको समस्या सुनी,उनीहरूको चिन्तालाई गम्भीरताका साथ लीइ सकिन्छ भने उनिहरुलाई उनिहरुको आत्मबल बढाउने कुरा गरी जानकार मनो चिकित्सकहरुसँग तुरुन्त मद्दत लिन उनिहरुलाई प्रोत्साहन गरी आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्छ। उनिहरुलाई कहिले पनि एक्लोपनको महसुस हुन दिनु हुँदैन, यसले कसैलाई आत्महत्याको बाटो रोज्न बाट जोगाउन सक्छ। आत्महत्या रोकथामका लागि सरकारबाट चाडो उचित कदम चाल्नु निकै जरुरी रहेको छ।

(लेखक आभाष फुयाल, काठमाडौं स्कुल अफ लमा बि.ए.एल.एल.बि दोस्रो वर्ष र लेखक योगेश पौडेल, नोबेल कलेजमा Bachelor in Public Health, चौथो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.