१७ भदौ , काठमाण्डौ ।
थियानमेन स्क्वायरमा सैन्य परेड गरेर चीनले आफ्नो सामारिक वैभवको उच्चतम नमुनाका रुपमा विश्वलाई देखाउँदै छ । भोलि हुने यो परेड हेर्न महाशक्ति रुसका राष्ट्रपतिm उत्तर कोरियाका नेता किमजोङ उनदेखि नेपालका प्रधानमन्त्रीसम्म चीन पुगिसकेका छन् ।
यसैक्रममा उत्तर कोरियाली नेता किम जोङ उन पनि चीनको राजधानी बेइजिङ पुगेका छन् । जहाँ उनी बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन् । यो अवसरले किमलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग भेट गर्ने अवसर दिनेछ ।
यसलाई उनको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय सहभागिता मानिएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन् । सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले बेजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान छ ।
किमको यस पटकको सहभागिता सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाएको हो । यसपटकको कार्यक्रममा म्यानमार, इरान, क्युबासहितका २६ राष्ट्रप्रमुखहरू सहभागी हुनेछन् ।
यसअघि २०१५ को विजय दिवस परेडमा उत्तर कोरियाले उच्च अधिकारी छोए रयोङ–हेलाई पठाएको थियो । किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए ।
किमको रेलयात्रा परम्परा उनका हजुरबा किम इल सुंगले सुरु गरेका थिए । उनका पिता किम जोङ इलले पनि विमान यात्राप्रति डर भएकाले बख्तरबन्द रेलमै प्रायः विदेश भ्रमण गर्ने गर्थे । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमको हालको रेलमा करिब ९० वटा डब्बा छन्, जसमा बैठक कक्ष, शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन् ।
किमसमेत चिनियाँ परेड हेर्न उत्सुक रहेका बेला यता चीन पनि आफ्नो उच्च प्रविधियुक्त सैन्यकला प्रदर्शनको तयारीमा छ । दोस्रो विश्वयुद्धमा जापानमाथिको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले भव्य सैनिक परेड आयोजना गर्न लागेको हो।
यो कार्यक्रम मात्र ऐतिहासिक स्मरणको निरन्तरता मात्र नभई भविष्यको युद्धका लागि तयार रहनुपर्छ भन्ने सन्देश विश्वलाई दिन पनि आयोजना गरिँदै छ। राष्ट्रपति सीसँगै, रुसी राष्ट्रपति पुटिनसहितका २६ भन्दा बढी देशका शीर्षस्त विदेशी नेताहरू र अधिकारीहरू सो समारोहमा सहभागी हुनेछन् ।
पुटिनको उपस्थितिका कारण केही युरोपेली राजदूतहरूले कार्यक्रम बहिष्कार गर्ने सोच बनाइरहेका छन् । युरोपियन देशहरुले युक्रेनविरुद्ध रसियाले आक्रमण गरेको भन्दै क्रेमलिनलाई अन्तर्राष्ट्रिय वैधानिकता दिन सक्ने भन्दै वहिष्कार गर्ने तयारी गरेका छन् ।
तर चीनमा पुटिन, मोदी र सीले आफ्नो एकताको सन्देश विश्वभर संप्रेसण गरिसकेका छन् । यो सैन्य परेड करिब ७० मिनेट लामो हुनेछ, जसमा दर्जनौँ सैन्य टुकडीहरूले बेइजिङको मुटु मानिने चाङआन एवेन्यु हुँदै आफ्नो मार्च अगाडि बढाउने छ ।
सर्वोच्च सेनापति सीले स्क्वायर हुँदै हुने मार्च अघि सैनिकहरूको निरिक्षण गर्नेछन्। यस परेडमा १० हजारभन्दा बढी सैनिक, सयौँ विमान र सयौँ स्थल–सैनिक सवारी साधन सहभागी हुने छन् ।औपचारिक रुपमा यो परेडलाई शान्ति र अन्तर्राष्ट्रिय न्यायको उत्सव भनिएको छ ।
तर वास्तविक उद्देश्य भने चीनको पीपल्स लिबरेसन आर्मी (पीएलए)ले विकाश गरेको उच्च प्रविधिको युद्ध– साइबरस्पेस, अन्तरिक्ष, इलेक्ट्रोनिक युद्ध र हाइपरसोनिक युद्ध जस्ता नयाँ रणनीतिक क्षेत्रमा लड्न सक्ने क्षमताको प्रदर्शन गर्नेछ ।
चीनले गरेको अभ्यास र आधिकारिक स्रोतबाट लीक भएका विवरणअनुसार, यस परेडमा १०० भन्दा बढी किसिमका आधुनिक हतियार प्रणाली देखाइने छन्, जस सबै चीनमै बनेका र प्रयोगमा ल्याइसकिएका हतियारहरु हुनेछन् ।
सबैभन्दा बढी ध्यान खिच्ने हतियारमध्ये नयाँ वाईजे (वाइजे–यिङ जी, ‘ईगल शट’) सिरिजका एन्टि–शिप मिसाइलहरू हुने छन्, जसमा वाइजे सिरिजका –१५, १७, १९, २० समावेश छन् । यी प्रणालीहरू खास उद्देश्यका लागि तयार पारिएका हुन् ।
अमेरिकी नौसेनाका ठूला युद्धपोतहरू, विशेषगरी विमानवाहक पोतहरूलाई निष्क्रिय बनाउने विमानवाहक पोतहरू प्रशान्त महासागरमा अमेरिकाको शक्तिको केन्द्र मानिन्छन् ।
यी मिसाइलहरू चीनको ए२÷एडी (एन्टि–एक्सेस÷एरिया डिनायल) रणनीतिसँग जोडिएका छन्, जसको अर्थ हो दक्षिण चीन सागर, ताइवान जलडमरूमध्य र पश्चिमी प्रशान्त क्षेत्रमा शत्रुका फौजलाई प्रवेश गर्न नदिने वा अत्यधिक जोखिमपूर्ण बनाउने ‘रक्षात्मक घेरा’ तयार गर्नु हो ।
पछिल्ला दशकहरूमा चीनले एन्टि–शिप मिसाइलका धेरै प्रकार विकास गरेको छ । सुरुमा सोभियत प्रविधिबाट प्रेरित भए पनि, सन् १९८० को दशकमा वाईजे–८ (फ्रेन्च एक्सोसेट्स बाट विकसित) पछि चीनले आफ्नै मौलिक डिजाइनमार्फत तीभन्दा अगाडि बढ्यो ।
नयाँ सिरिजले चीनलाई अझै ठूलो गुणात्मक फड्को दिलाउने लक्ष्य राखेको छ, जसमा स्टेल्थ, हाइपरसोनिक गति र कृत्रिम बुद्धिमत्ता (एआइ) संयोजन हुने छन् । यी मिसाइलहरूको ठ्याक्कै विवरण गोप्य राखिएको छ, तर परीक्षण र विशेषज्ञहरूको विश्लेषणका आधारमा यीनीहरुका विशेषस्ता प्रस्ट पार्ने प्रयास गरिएको छ।
जसमा गति कम्तीमा म्याक ४–६ (हाइपरसोनिक स्तर), अन्तिम क्षणमा दिशा परिवर्तन गरी एन्टि–मिसाइल प्रणाली छल्न सक्ने क्षमता। सयौँ किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता। संयुक्त उडान शैली– सुरुमा मध्यम–उच्च उचाइमा उड्ने, अन्तिममा समुद्रको सतह नजिक झर्दै जाने, जसलाइ रोक्न कठिन हुन्छ ।
बहुविध मार्गदर्शन प्रणाली, सक्रिय रडार र इन्फ्रारेड सेन्सर । त्यस्तै बहुउपयोगी प्रक्षेपण क्षमता, विमान, युद्धपोत, पनडुब्बी र मोबाइल स्थल–प्ल्याटफर्मबाट प्रक्षेपण गर्न सकिने, जसले शत्रु फौजमाथि एकैसाथ आक्रमण गर्न सम्भावना बढाउँछ ।
यी सबैले अमेरिका प्रति दिन खोजेको सन्देश प्रस्ट छ अब विमानवाहक पोतहरू अछुतो छैनन् र प्रशान्त महासागर अब ‘अमेरिकी एकल साम्राज्य समुद्र’ मात्र रहने छैन। आगामी परेडमा अमेरिकाको मिसाइल रक्षा प्रणालीलाई पार गर्नसक्ने नयाँ प्रक्षेपण यन्त्रहरू पनि देखिने अपेक्षा गरिएको छ ।
जसले बेइजिङलाई विश्वसनीय रणनीतिक प्रतिरोध क्षमता दिनेछ । अभ्यास तस्बिरहरूमा सडक–मोबाइल ब्यालिस्टिक मिसाइल प्रणाली देखिएको छ, जुन परमाणु युद्धको अवस्थामा तथाकथित सेकेन्ड स्ट्राइक (दोस्रो प्रहार) सुनिश्चित गर्ने आदर्श हतियार मानिन्छ ।
चीन अहिले नयाँ पुस्ताका मोबाइल अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलहरू (आइसीबीएम) विकास र परिचालन गर्दैछ, जसले शत्रुको पहिलो आक्रमण भए पनि आफ्ना परमाणु प्रतिरोध क्षमतालाई सुरक्षित राख्ने लक्ष्य लिएको छ ।
यसमा मुख्य मोडेलहरूमध्ये डिएफ–३१ एजी एक मुख्य हो जसको अनुमानित दायरा ११,००० किलोमिटरभन्दा बढी (६,८३५ माइल), जसले अमेरिकी भूमिखण्डको कुनै पनि लक्ष्यमा प्रहार गर्न सक्छ । त्यस्तै डीएफ–४१ जसलाइ चीनको सबैभन्दा शक्तिशाली अन्तरमहाद्वीपीय मिसाइल मानिन्छ।
यसको दायरा १२,००० देखि १५,००० किलोमिटरसम्म (७,४५६ – ९,३२० माइल) पुग्छ र यसले एमआइआरभी प्रविधिबाट १० वटा सम्म वारहेड बोक्न सक्छ, जसले फरक–फरक लक्ष्य हान्न सक्छ। यसले जमिन र भूमिगत सिलो वा रेल प्लेटफर्म दुवैबाट प्रक्षेपण गर्न सकिन्छ ।
त्यस्तै जेएल–३, आणविक पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने आइसीबीएम हो जुन अहिले नयाँ तरिकाले ०९६ वर्गका पनडुब्बीहरूमा तैनाथ हुँदैछ । यी क्षमताहरू चीनको रणनीतिक प्रतिरोध शक्तिलाई अझै बलियो बनाउँदैछन्, जसले अमेरिकासहित विश्वका अन्य शक्ति राष्ट्रहरूसँग सन्तुलन कायम गर्न मद्दत पु¥याउने छ ।
विश्लेषकहरूका अनुसार सेप्टेम्बर ३ को परेडमा चीनले पहिलो पटक आफ्नो युद्धका लागि तयार घोषित एफएच–९७ अनम्यान्ड ड्रोन देखाउने छ । ‘लायल विङ्गम्यान’ उपनाम दिइएको यो ड्रोनले मानवरहित भए पनि लडाकु विमानसँग मिलेर रेकी, आक्रमण र इलेक्ट्रोनिक जामिङ जस्ता मिशन पूरा गर्न सक्छ ।
यदि यसलाई सार्वजनिक रूपमा प्रस्तुत गरियो भने, चीन यस्तो प्रकारको स्टेल्थ ड्रोनलाई युद्ध–तयारीको अवस्थामा राख्ने पहिलो देश बन्ने छ। जसले अझै परीक्षणमै रहेका अमेरिका र अष्ट्रेलियालाई पनि पछि पार्ने छ।
सार्वजनिक भएका सूचनाअनुसार, एफएच ९७ ले गाइडेड बम, हावा–हावामा प्रहार गर्ने वा हावा–भूमिमा प्रहार गर्ने मिसाइल बोकेर युद्ध गर्न सक्छ। यसमा रेकी र इलेक्ट्रोनिक युद्धका लागि सेन्सरहरू पनि जडान गरिएको छ। यो ड्रोन जे–२० वा जे–१६ जस्ता लडाकु विमानसँग नेटवर्कमा जोडिन सक्छ, जसले आक्रमण र रक्षा दुवै अभियानमा शक्ति बढाउने काम गर्छ ।
यसमा एआइ प्रणाली पनि रहने अपेक्षा गरिएको छ, जसले यसलाई स्वतन्त्र रूपमा उड्न, मार्ग परिवर्तन गर्न, खतराबाट बच्न र मानव–नियन्त्रित विमानसँग तालमेल गर्न सक्षम बनाउँ छ।
यसलाई सार्वजनिक रूपमा प्रदर्शन गर्नु भनेको वाशिङ्टन, टोक्यो र ताइपेईलाई चीन अब नयाँ पुस्ताका हवाई युद्ध अभियान चलाउन सक्षम भएको संकेत दिनु हो, जुन हालको रक्षा सिद्धान्तले सजिलै सामना गर्न सक्दैन।
हाइपरसोनिक मिसाइल र अन्तरमहाद्वीपीय मिसाइलहरूसँगै चीनले केही कम देखिने तर सम्भावित रूपमा क्रान्तिकारी हतियार पनि विकास गरिरहेको छ–इलेक्ट्रोनिक युद्ध प्रणाली र डाइरेक्ट–एनर्जी वेपन ।
मिसाइलहरू दृश्य प्रतिरोधका हतियार भए पनि यी शान्त तर घातक हतियार हुन्, जसले शत्रुको रडार र सञ्चार प्रणालीलाइ नदेख्ने बनाउन सक्छन्, उडिरहेको मिसाइल र ड्रोनलाई निष्क्रिय बनाउन सक्छन्, र चीनका फौजलाई साइबर वा अन्तरिक्ष–आधारित आक्रमणबाट जोगाउन सक्छन् ।
चीनले यस क्षेत्रमा ठूला लगानी गरेको छ, किनभने उसले यसलाई ‘सूचनामूलक’ र ‘बुद्धिमानीकृत’ युद्ध जित्न निर्णायक मान्छ । चीनका मोबाइल स्थल तथा नौसैनिक प्रणालीहरूले विमान–स्थपित रडार, क्रुज मिसाइल र उपग्रहमा प्रयोग हुने फ्रिक्वेन्सीलाई जाम गर्न सक्छन्।
केही विशेष ब्रिगेडले साइबर आक्रमण र इलेक्ट्रोनिक जामिङ एकैपटक प्रयोग गरेर शत्रुको हार्डवेयर र सफ्टवेयर दुवैलाई निशाना बनाउँछन्। त्यस्तै, डाइरेक्ट–एनर्जी वेपन प्रयोग हुन सक्छ ।
यो भनेको केन्द्रित ऊर्जा किरण (लेजर, माइक्रोवेभ, उच्च–शक्ति विद्युत चुम्बकीय तरंग) प्रयोग गरेर परम्परागत गोली वा मिसाइल प्रयोग नगरी नै लक्ष्य ध्वस्त गर्ने प्रविधि हो ।
यस परेडमा चीनले नवीनतम रेकी ड्रोन, युद्ध ड्रोन र पानीमुनि चल्ने मानव–रहित ड्रोनहरू समेत देखाउनेछ, जसले विवादित समुद्री क्षेत्रमा उसको निगरानी क्षमता विस्तार गर्ने छ।
यी प्रणालीहरूको सेप्टेम्बर ३ अर्थात भोली हुने पहिलो सार्वजनिक प्रदर्शनले गहिरो प्रतीकात्मक सन्देश दिने छ।
चीन केवल पश्चिमलाई पछ्याएको छैन, केही क्षेत्रमा उसलाई उछिन्नेर अघि बढेको सन्देश दिन यो परेड महत्वपूर्ण मानिएको छ ।