८ असार, विराटनगर ।
आज नेपाली नागरिकहरुलाई स्वदेशमा रोजगारीको पर्याप्त सम्भावना नभएको कारण आफ्नो श्रम बेच्न बैदेशिक रोजगारीको सहारा लिनुपर्ने बाध्यता रहेको कुरा दैनिक हजारौको संख्यामा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल छाड्ने नेपालीहरुको लर्कोले चित्रण गर्दछ ।
आज बैदेशिक रोजगार हामी नेपालीहरुको निम्ति रहर भन्दापनि बाध्यताको स्थिति बनेको अवस्था छ । हरेक साल झन्डै ५ लाख बिदेशिएका नेपाली युवाहरुले पठाएको कुल गृहस्थ उत्पादनको १ तिहाइ रेमिट्यान्सले आज नेपालको अर्थतन्त्र धानेको छ भन्ने कुरा तथ्यांकले प्रस्तुत गर्दछ । नेपालको अर्थतन्त्रमा सघाउ पुर्याउने ति लाखौ युवा मध्ये धेरै नेपाली महिला दिदि बहिनीहरु छन । जसले विदेशको भूमिलाई आफ्नो कर्मभुमि बनाइ आयआर्जन गर्ने आधार बनाएका छन् ।
सन् २००८ देखि २०१७ सम्ममा नेपाल सरकारले झन्डै ३५ लाख नेपालीलाई रोजगारी अनुमति दिएको तथ्यांक देखिन्छ । तुलनात्मक रुपमा पुरुषभन्दा महिलाहरुले कमै बैदेशिक रोजगारीको अवसर रोजेको देखिएता पनि झन्डै १२ प्रतिशत नेपाली महिलाहरुले बैदेशिक रोजागरीलाई आफ्नो गन्तब्य बनाउदै आएका छन् ।
बिशेषत नेपाली महिलाहरु गरिबी र आर्थिक अभावबाट माथि उठ्नको साथै जीविकोपार्जनको अवसरको खोजीमा विदेशिने गरेका छन् । आफु र आफ्नो परिवारको सुन्दर भबिस्य बनाउने चाहना तथा आयआर्जन गरि घर धान्ने सपनाले उनीहरुलाई बैदेशिक रोजगारीको यात्रा तर्फ धकेलिरहेको छ । तर २ बर्ष अघि नेपाल सरकारले घरेलु कामदार महिलाहरुमाथि हुने आर्थिक र शारीरिक शोषणको कारण देखाई ३० बर्ष मुनिका महिलाहरुलाई घरेलु कामदारको रुपमा खाडी मुलुक जानमा रोक लगाएको थियो । जसले बैदेशिक रोजगारी गरेर जिवन चलाउन चाहने धेरै नेपाली महिलाहरुको सपनामाथि आघात पुगेको छ । सुन्दा यो निर्णय धेरैलाई न्यायोचित लाग्न सक्छ तर सरकारको यस निर्णयले धेरै नेपाली महिलाहरुको रोजगारी र जीविकोपार्जनको अवसर खोस्नुको साथै उनीहरुको व्यक्तिगत इच्छा र स्वतन्त्रतामा समेत प्रहार गरेको छ । जसले उनीहरुलाई आफ्नो लागि निर्णय लिन र छनौटको अवसरबाट बन्चित गर्दछ ।
यसको अलावा हाम्रा दिदी बहिनिहरुको आर्थिक रुपमा सवल भइ आफ्नो घर तथा परिवार धान्ने सपनालाइ समेत खोसेर उनीहरुलाई अरुमाथि आश्रित भइ बाच्न बाध्य बनाइ उनीहरुलाई गरिबीको दलदलबाट माथि उठ्न नदिने कुरा निश्चित छ । बैदेशिक रोजगारीले हाम्रा महिला दिदीबहिनिहरुलाई कमाउने अवसर मात्र प्रदान नगरेर उनीहरुलाई देशविदेश अवलोकन गर्ने, बिभिन्न स्थानबाट आएका मानिसहरुको रहनसहन र सस्कृति बुझ्ने, नयाँनयाँ ठाँउका साथीभाईहरु बनाउने, सिप र भाषा सिक्ने, प्रबिधि बुज्ने अवसर प्रदान गरेको छ, जुन अनुभबलाई स्वदेश फर्केपछि वा संसारको जुनसुकै कुनामा रहेपनि त्यस अनुभवलाइ प्रयोगमा ल्याई लाभ लिन सक्ने आधार तयार गर्नेछ ।
अवश्यपनि बैदेशिक रोजगारी हामी धेरैले सोचेको जस्तो सहज भने छैन, त्यसको सकारात्मक तथा नकारात्मक दुवै पाटाहरु छन् ।बेला बेला हाम्रा नेपाली दिदीबहिनीहरुले विदेशिएको अवास्थामा थुप्रै पीडादायी समस्या र चुनौतीहरु भोग्नु परेको समाचारहरुले यस कुरालाई जाहेर गर्दछ । तर आज बैधानिक तवरले ३० बर्ष मुनिका महिलाहरु घरेलु कामदारको रुपमा रोजगारी गर्न जान नपाउदा नेपाली दिदीबहिनिहरुले अबैधानिक बाटो रोज्नु पर्ने अवस्था निम्त्याएको छ, जसले उनीहरुलाइ दलालहरुको चंगुलमा फस्न र आर्थिक तथा शारीरिक शोषणमा पर्ने स्थिति निम्त्याई दिएको छ । यसका साथै यसले उनीहरुलाई बिभिन्न किसिमको मानसिक तनाबको स्थिति झेल्नुपर्ने र मानब ओसारपसारको जोखिममा समेत पर्न सक्ने अवस्था देखिन्छ ।
त्यसैले महिलाहरुलाई बैदेशिक रोजगारीमा जान रोक्नु समस्याको समाधान होइन भन्नेकुरा हामी सबैले बुझ्न जरुरी छ । नेपाली चेलीहरुले भोग्दै आएका यस किसिमका समस्याहरुलाई निराकरण गर्न नेपाल सरकारले हाल बन्द गरेको रोजगारीलाई पुन खुल्ला गरि बैदेशिक रोजगारीमा जान चाहने महिलाहरुलाई आवश्यक परामर्श र भाषा लगायत सिपको तालिमको व्यवस्था गर्नुको साथै कुटनीतिक पहल गरि आर्थिक शोषण, शारीरिक र मानसिक यातना दिने रोजगारदातालाई सजाय र क्षतिपूर्ति तिराउने व्यवस्था गरि बैदेशिक रोजगारलाई सुरक्षित बनाउन नितान्त आवश्यक छ ।
स्वयम विदेश जान चाहने महिला दिदीबहिनीहरुले पनि कस्तो ठाउमा, कस्तो कामको निम्ति कति पैसामा काम गर्न जादैछु भनेर बुझ्न आवश्यक छ । रोजगारदाता मात्र नभएर म्यानपावर र एजेन्ट आदिको बारेमा पनि सहि लेखाजोखा राख्न जरुरि छ । ताकी उनीहरु सजिलै ठगी गर्न नसकुन र यदि गरिहाले भनेपनि उनीहरुलाई कारवाहीको दायरामा ल्याई सजायको भागीदार बनाइ बैदेशिक रोजगारका घरेलु कामदार महिलाहरुलाई सुरक्षित बनाउन सकियोस् । हामी चाहन्छौ, नेपाल सरकारले घरेलु महिलाहरुको निम्ति बन्द गरेको रोजगारीको अवसरलाई सहज र सुरक्षित बनाइ खुल्ला गरोस् र महिलाहरुलाई आफ्नो जीवनको निम्ति छनौट र निर्णय लिने अवसर प्रदान गरी उनीहरुले श्रम गरेर जीविकोपार्जन गर्न पाउने अधिकारलाई सम्मान गरोस् ।
—वसन्त अधिकारी