युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…

युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…

५ साउन, काठमाडौँ ।

सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई ।

परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ केही पैसा कमाएर फर्कन्छन् त केही ‘कफिन’ मा फर्कन्छन् ।

हाँसीहाँसी विदेशिएका कोही हाँस्दै फर्कन्छन् भने कोही रुँदै । कोही आश लिएर फर्कन्छन् त कोही श्वासविहीन । नेपाल राष्ट्र बैंकले शुक्रबारमात्र गत आर्थिक वर्ष २०७५÷०७६ को ११ महीनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । विवरण भन्छ, ‘एघार महीनामा रु सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रियो ।”

देशभित्र रोजगारीको अवसर मनग्य हुँदो हो त लाउँलाउँ र खाउँखाउँको उमेरमा ५० डिग्रीको तातोमा जीवन खोज्न कसलाई पो मन थियो र ? सामान्यतः खान, लाउन पनि धौधौ नै थियो । परिवारको सदस्य बढ्ने क्रममा थियो । जानेको सीप हातमा केही थिएन, खेतीपातीले मात्रै धान्न सक्ने अवस्था थिएन ।

परदेशीने मन त उनलाई पनि थिएन तर आवश्यकता र बाध्यताले नराम्ररी कसेपछि मकवानपुर भीमफेदी गाउँपालिका– ४ गोप्लिङका ३० वर्षीय जयराम सारुमगरलाई पनि परदेशीन बाध्य तुल्यायो ।

पटकपटक विदेश जान्छु भन्दै घरबाट काठमाडाँै आउने र जानेक्रम चलेकै थियो । तर पछिल्लोपटक आफैँले चिने जानेकासँगै खाँदै हिँड्दै गर्ने रुपेशकुमार दाहालले राम्रो काम आएको छ जान्छाँै भने । विवशताले नराम्ररी गाँजेको बेला सारुलाई उनै दाहालको प्रस्ताव ‘ढुङ्गा खोज्दा, देउता भेटे’ जस्तै भयो । दाहालले जे जे भन्दै गए सारुले त्यै त्यै गर्दै गए । सरकारले वैदेशिक रोजगरीमा जानेलाई खाडी र मलेसियामा ‘फ्रि भिसा, फ्रि टिकट’ को व्यवस्था लागू गरेको छ । तर सारुलाई त्यो कुरा कसैले बताइदिएन ।

विदेश पठाउँछु भन्ने दाहालले पनि उनलाई केही भनेनन् । सारुले भगवान् ठानेका दाहालले रु एक लाख ७० हजार खर्च लाग्छ नि भन्दा ‘नाइ’ भन्न सकेनन् । गाउँकै एक जनासँग ‘सयकडा तीन’ का दरले व्याज तिर्ने गरी पैसाको जोहो गरे । “राम्रो कमाइ हुन्छ भने खर्च गर्न किन कञ्जुस्याइँ गर्नु”, मलिन अनुहारमा सारु विगत सम्झन्छन् ।

शुक्रबार अपराह्न बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा भेटिएका उनले आफूलाई नजिकको साथी भनेका तीनै रुपेश र म्यानपावरले झुक्याएर कामका लागि पर्यटक भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पु¥याएको बताए ।

पूरानो बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत विदेश उडाइएका सारुलाई विदेशमा काम गर्न स्वीकृति लिएकोसम्बन्धी कुनै पनि कागजात दिइएन । विमानस्थलमा नियम पविर्तन भएको सुनाउँदै उनलाई वैदेशिक रोजगारीमा जाने कामदारको प्रवेश कक्षबाट नपठाइ अन्य यात्रु प्रस्थान कक्षमार्फत पठाइएको थियो ।

श्रम स्वीकृतिका बारेमा कतैकतै हल्ला सुनेका सारुलाई विमानस्थलस्थित श्रम कक्षमा राहदानीमा लागेको श्रम स्टिकरको निस्सा देखाउनुपर्छ भन्ने नलागेको होइन । तर पनि आफ्नो मनमा रहेको पातालो स्मृतिको हेक्का नराखी उनै दाहालले भनेको कुरालाई बढ्ता विश्वास गर्दै पर्यटक भिसामा युएई जान लागेको भन्दै विमानस्थलमा प्रवेश गरे ।

विमानस्थलस्थित अध्यागमन विभागका कर्मचारीले पनि सारुसँग कुनै जानकारी नै लिएनन् । “शायद विमानस्थलमा पनि म्यानपावरले ‘सेटिङ’ मिलाएको रहेछ क्यार, मलाई कुनै पनि विषयमा सोधखोज गरिएन”, उनले विगत सम्झदै भने ।

एयर अरेबियाको विमानमार्फत युएइको सारजाहा विमानस्थलमा उत्रने बित्तिकै सारुलाई कम्पनीको ड्राइभर भन्ने एक पाकिस्तानी नागरिकले रातिनै निकै टाढा मरभूमिमा लगेर ‘लेबर क्याम्प’ मा राख्यो । उक्त क्याम्पमा केही बङ्गाली, पाकिस्तानी र नेपाली गरी नौ जनालाई राखिएको थियो ।

‘फ्याक्ट्री वर्कर’ भनेर सारुलाई उडाइएको थियो । त्यहाँ पुगेपछि उनलाई ‘बिल्डिङ कन्ट्रक्सन’को काममा लगाइयो । नेपालबाट जाने बेलामा म्यानपावर र उनै दाहालले भनेको कामभन्दा निकै अप्ठ्यारो काम गर्न दबाब दिइयो । एक दिन काम गर्नेबित्तिकै सारु तीन दिन थला परे ।
सारुले आफूलाई जुन काम गर्न भनेर भनिएको हो सोही काम मिलाउन म्यानपावर र दाहाललाई भन्दा पनि कुनै सुनुवाइ भएन । “मैले धेरै पटक म्यानपावर र दलाललाई त्यो काम गर्न सक्दिन भनेर भनेँ” सारु भन्छन्, “केही दिनपछि त उनीहरु सम्पर्कमै आउन छाडे ।”

नेपालमा हुँदा कहिले ढिँडो त कहिले पिठोले पेट भरेका उनले १५ दिनसम्म पानीबाहेक केही पनि खान पाएनन् । उनलाई कहिले बङ्गाली त कहिले पाकिस्तानी ऐजेन्टले केही खाना दिन्थे । वैदेशिक रोजागरीमा पठाउने भने पनि उनलाई अभिमुखीकरण तालीम, श्रम स्वीकृति, बीमालगायतको प्रक्रिया पूरा गर्न लगाइएन । उल्टो नेपालको विमानस्थलमा भिजिट भिसाको कागजात देखाउन र सारजहा विमानस्थलमा ‘वर्किङ भिसा’ को कागजात देखाउन भनियो ।

“काठमाडौँस्थित विमानस्थलमा भिजिट भिसाको कागजात देखाउनु, ‘बोर्डिङ पास’ लिएपछि उक्त कागजात च्यातेर फालिदिनु”, सारुलाई दलालले भन्यो, “युएई पुगेपछि ‘वर्किङ भिसा’को कागजात देखाउनु ।” तर उनले दलालले भने झँै कागजात च्यातेर फालेनन् । अहिले उनीसँग काठमाडाँैस्थित युएई दूतावासले जारी गरेको ‘भिजिट भिषा’ र ‘वर्किङ भिषा’को कागजात हातैमा रहेको छ ।

चर्को व्याजको ऋणको बोकेर विदेश

औशत नेपाली युवा वैदेशिक रोजगारीको खोजीमा निस्कँदा ऋणको भारी बोकेरै निस्कन्छन् । सरकारले खाडी र मलेसियामा ‘फ्रि भिसा, फ्रि टिकट’ को व्यवस्था लागू गरे पनि सो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । ज्यादै कम तलब र जोखिमपूर्ण कामका लागि अझै पनि नेपाली युवा चर्को व्याजमा ऋण खोजेर विदेशिन बाध्य छन् ।

सारु मगरको विदेश यात्रा पनि आम युवाको भोगाइसरह नै रहेको छ । ‘सयकडा तीन’को व्याजमा साहुसँग ऋण खोजेर आकर्षक कमाउने र परिवारको समृद्धिको रहर पूरा गर्ने सारु मगरको सपना यतिबेला शिशा झैँ फुटेको छ । चर्को व्याजमा रकम खोजेर दलाललाई दिएको रु एक लाख ७० हजार कसरी उठाउने र साहुलाई के तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ सारुलाई । उल्टो नेपालबाटै रु २० हजारमा फर्कने टिकट बनाएर सारु शुक्रबार बिहान स्वदेश फिरेका छन् ।

प्रमाण नहुँदा अप्ठ्यारो

सारुले पछिमात्र दलालका रुपमा चिनेका दाहाललाई विभिन्न चरणमा एक लाख ७० हजार दिएको कुनै प्रमाण छैन । मौखिक भरमा पैसा दिएका उनलाई उतिबेला पैसा दिएको कागज गराउनुपर्छ भन्ने पनि लागेन ।

अहिले उनी आफूले न्याय पाउने र पीडकमाथि कारवाही हुने झिनो आश बोकेर प्रहरी कहाँ धाइरहेका छन् । सारुले आइतबार दलाल दाहाल र म्यानपावर कम्पनीविरुद्ध जाहेरी दिने तयारी गरेका छन् ।

–रमेश लम्साल/अशोक घिमिरे(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.