२३ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएको छ ।
निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।
आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै गत १९ वैशाखको मन्त्रिपरिषद्को निर्णयानुसार उपनिर्वाचन मिति घोषणा भएको जनाएका छन् ।
लुम्बिनी प्रदेशमा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको स्थान रिक्त छ । आयोगले उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिकासमेत स्वीकृत गरेको छ ।
जसअनुसार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको छ । प्रदेश राजधानी तोकिएको दाङ सदरमुकाम घोराहीस्थित निर्वाचन कार्यालयमा अधिकृत कार्यालय स्थापना गर्ने निर्णय आयोगले गरेको छ ।