८ जेठ, काठमाडौं ।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति पनि खारेज भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’ मा प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति बनाउने उल्लेख छ ।
अध्यादेशमा प्रधानमन्त्री ओलीको नेतृत्व रहने निर्देशक समितिमा उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्य तथा जनसङ्ख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री सदस्य रहने भनिएको छ । यस्तै अध्यादेशले कोभिड–१९ सङ्क्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परे वा पर्न सक्ने देखिए स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।
आपतकाल लगाएको अवस्थामा सरकारले आवश्यकता अनुसार स्वास्थ्य संस्थाहरु नियन्त्रणमा लिएर सञ्चालन गर्न र गराउन सक्ने अध्यादेशमा भनिएको छ ।
यस्तै अध्यादेशअनुसार मास्क नलगाई सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।
मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लङ्घन गर्नेलाई भने दुई सय रुपैयाँ तिराइने व्यवस्था छ । यस्तै आवतजावतमा रोक लगाइएको अवस्थामा अनुमति विना गाडी चलाए दुई पाङ्ग्रेलाई दुई हजार रुपैयाँ र अरु गाडीलाई ५ हजार रुपैयाँ तिराउन सक्ने व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।