११ फागुन, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा समाचार सेयर गर्न पाउने सुविधा फेरि सुचारू गरेको छ ।
अष्ट्रेलियाली सरकारसँग सहमति भएपछि गत सातादेखि बन्द गरिएको सेयर सेवा सुरू गरिएको फेसबुकले जनाएको छ।
अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ।
पारित हुन लागेको विधेयकको उक्त प्रावधानको विरोधमा फेसबुकले समाचार सेयर गर्न नदिने गरी प्रतिबन्ध लगाएको थियो।
फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो।