२३ भदौ, मोरङ ।
मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा आयोजना हुने लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करणको उपाधि पुरस्कारको राशि दोब्बर बनाइएको छ ।
गोल्डकपको तेश्रो संस्करण असोजको पहिलो साताबाट हुनेछ । प्रतियोगिताका अध्यक्ष विक्रम राईका अनुसार तेश्रो संस्करणको उपाधि हात पार्ने टोलीले ५ लाख रुपैया, उपविजेताले २ लाख ५० हजार हात पार्नेछन् ।
यसअघि २ लाख २२ हजार र १ लाख ११ हजार रुपैया रहेको थियो । लक्ष्मीमार्गमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले गोल्डकपमा भारतको एक टोलीसहित ८ क्लबले उपाधिका लागि स्पर्धा गर्ने बताए ।
प्रतियोगितामा भारतको रोयल क्लब, रुपन्देही ११, धरान ११, एपीएफ काठमाडौं, झापा ११, मदन भण्डारी स्पोटर्स एकेडेमी काठमाडौं, नेपाल पुलिस क्लब, र आयोजक डाँगीहाट युथ क्लब मोरङले स्पर्धा गर्ने छन् ।
गतवर्षको विजेता टोली मोरङ फुटबल एकेडेमी भने प्रतियोगितामा अटाएको छैन । अध्यक्ष राईले एन्फाको नयाँ नियम अनुसार ‘ग’ श्रेणीमा परेकाले मोरङ प्रतियोगिताबाट बाहिरिएको हो ।
गतवर्ष मोरङले झापाको टोलीलाई पराजित गर्दै उपाधि हात पारेको थियो । गोल्डकपमा ३१ लाख ४ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।