१५ जेठ, काठमाडौं ।
सरकारले आउँदो आर्थिक वर्षभित्र भूमिहीनहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सबै किसिमका भूमिहीनहरूको लगत सङ्कलन गरी आउँदो आर्थिक वर्षभित्र जग्गाधनी पुर्जा वितरण गरिसक्ने घोषणा गरे ।
यसका लागि ६८ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै अतिक्रमणमा परेका सरकारी, सामुदायिक तथा गुठीका जग्गा फिर्ता गरिसक्ने पनि बजेटमा घोषणा गरिएको छ ।
गैरकानुनी कब्जा गरिएका तथा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेका सबै जग्गाको लगत सङ्कलन गरी फिर्ता लिइ सक्ने अर्थ मन्त्री पौडेलले बताए ।
यस्तै भूमि बैंकको स्थापना गरेर प्रयोग नभएका सरकारी तथा निजी जग्गालाई व्यावसायिक खेतीका लागि उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।