७ माघ, एजेन्सी । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै मंगलबार बिहान तीन वटा रकेट प्रहार भएको छ । बग्दाद प्रहरीका अनुसार अमेरिकी दूतावास नजिकै तीन वटा कात्युशा रकेट प्रहार गरिएको हो ।
बीबीसीका अनुसार अमेरिकी दूतावासनजिकै रकेट प्रहार भएपछि साइरन बजेको थियो। उनका अनुसार माइकिङ गर्दै सबैलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको थियो।
इराकी प्रहरीका अनुसार सरकारी भवन र कुटनीतिक नियोग रहेको ‘ग्रीन जोन’ मा जफरनियाँ जिल्लाबाट रकेट प्रहार गरिएको थियो । तीनवटामध्ये दुइटा रकेट अमेरिकी दूतावासनजिकै खसेको थियो । रकेट प्रहारबाट मानवीय क्षति भने नभएको जनाइएको छ । अमेरिकाले इरानले रकेट प्रहार गरेको आरोप लगाए पनि यसको आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।
जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानी जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव सिर्जना भएको छ।