एसइई परीक्षा नलिन प्याब्सनको माग, तत्काल नयाँ भर्ना नखुल्ने

२३ बैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न माग गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण रोकिएको परीक्षा अहिले पनि परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै प्याब्सनले परीक्षा नलिई आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गर्न माग गरेको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन । यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको उनको भनाइ छ ।

Advertisement

२०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्याब्सनको सुझाव छ । चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो । शिक्षाविद्हरुले भने एसईई परीक्षा सधैंका लागि हटाउनुपर्ने सुझाब दिँदै आएका छन् ।

गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् ।

Advertisement

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अहिले नै भर्ना नलिन आग्रह गरेको छ। कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र लकडाउनसमेत खुकुलो नभएको अवस्थामा भर्ना अभियान र नयाँ भर्ना लिने अवस्था नरहेको मन्त्रालयको भनाइ छ।

हाल पठनपाठन तथा परीक्षाहरू स्थगित रहेको भन्दै मन्त्रालयले अर्को सूचना जारी नहुञ्जेल नयाँ भर्ना नलिन पनि आग्रह गरेको छ। सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले भर्नाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top