७ मंसिर, काठमाडौं । कतार सरकारले अब नयाँ श्रमिकलाई पनि आउन दिने भएको छ ।
नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा रहेको नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम थालेको छ । कोरोनाको कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो ।
उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन । तर अब भने त्यो प्रतिवन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ । कतारले गरेको पछिल्लो घोषणा अनुसार अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताए ।
अहिले कतारबाट बिदामा नेपाल आएकाहरु फर्कनका लागि भने विशेष अनुमति दिनुपर्ने प्रावधान कतार सरकारले राखेको छ । कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्नेछ ।