२९ बैशाख, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहेको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।
शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा नेपालीलाई दिइएको छ ।
थपिएका मन्त्रीको आजै सपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निजी सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाईसकेको छ ।
यसअघि आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिएका थिए ।