९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गरेका छन् ।
आइतवार बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा
प्रधानमन्त्री ओलीले लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै आपत्ती जनाए ।
उनले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टि जनाउँदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतीकको रूपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताए ।
उनले भने , ‘प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको । कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्ता घृणित कार्यहरू । राजतन्तत्र भनेको प्रेत संस्था हो ।
त्यो प्रेत संस्थाको विशाल भीमकाय फोटो बनाउने र नागरिकबाट निर्वाचित जनप्रतिनिधित्वको गणतन्त्रको प्रतीकको रूपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाका, सामन्ती संस्थाको एउटा खल्तीमा राख्नेसम्मको ? लोकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग हो ।’
उनले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, केही त मिसन पत्रकारिता भएका छन् ।
जसको काम उपलब्धिको चर्चा नगर्ने र कमजोरीको मात्रै चर्चा गर्ने, छैन भन्ने, बनावटी अन्तरकुन्तरबाट मार्मिक कहानीहरू बनाउने, निकाल्ने । मार्मिक स्थितिको चित्रण गर्ने ।
त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासलाई साथ सहयोग गर्ने भन्दा पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति बोकेका छँदैछन् ।