२१ वैशाख, एजेन्सी ।
अमेरिकाले किशोरकिशोरीका लागि कारोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ ।
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको संघीय अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ ।
आउँदो हप्ताको सुरुमा एफडिएले सो स्वीकृति जारी गर्ने तयारी गरेको खबरमा उल्लेख छ । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको हो ।
खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।
फाइजर खोपको आपतकालीन प्रयोग किशोरकिशोरीमा पनि बिस्तार गर्ने तयारी स्वरुप छलफल तथा परामर्श भएको एफडिएले बताएको समाचार संस्था रोयटर्सले पनि उल्लेख गरेको छ ।
फाइजरको खोप १६ वर्षमाथिका लागि अमेरिकाले यसअघि नै स्वीकृति प्रदान गरिसकेको छ । फाइजरले भने किशोरकिशोरीमा पनि खोप स्वीकृत गर्ने बारे भइरहेको तयारीका सम्बन्धमा कुनै प्रतिक्रिया नदिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) की निर्देशक रोशेल वालेन्स्कीले अप्रिलको सुरुमा फाइजर किशोरकिशोरीका लागि मेको मध्यसम्ममा खोप स्वीकृत गर्न सकिने बताएकी थिइन् ।
मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आ–आफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।
फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ मिहनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् ।
११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को सुरुमा तयार हुने दुवै कम्पनीले बताएका छन्।