खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

११ कात्तिक ७७, बुधबार

१२ कात्तिक, गलेश्वर।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ ।

घटस्थापनादेखि बडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतीक मौलोमा दही र अक्षता चढाइ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो । मौलोमा कोटपूजा तथा बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापा, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासक तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गरेका थिए ।

Advertisement

नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखि नै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म बलिसहित शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ ।

कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्ग भवानी मन्दिरका विशेषता रहे पनि बलि दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको बत्ती दशमीका दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

Advertisement

तत्कालीन राजा मलेबम मल्लका सौतेला भाइ भर्तिवम मल्लको दरबारलाई उनको मृत्युपछि कोत बनाई राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरबारलगायतका सामान राखिएको खड्गभवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले यसको विकासका लागि वडा कार्यालयले पहल गरिरहेको छ ।

यहाँ पदमार्ग लगायतका केही पूर्वाधार निर्माण भइसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष थापाले बताए । उनका अनुसार खड्गभवानी कोतसँग म्याग्दी जिल्लाकै इतिहास र बाइसेचौबीसे राज्यको वास्तविकता गाँसिएकाले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुककोटको ऐतिहासिक सम्बन्धको बारेमा खोजीनीतिसमेत भइरहेको छ ।

गौरवमय इतिहास रहेको ज्यामरुककोटलाई देश विदेशमा परिचित बनाउन र यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न वडाध्यक्ष थापाको आग्रह छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top