गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुले कलेजमा बुझाएको शुल्कको भौचर दिन मानेन

७ असोज, पोखरा । गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुले कलेजमा तिरेको शुल्कको भौचर दिन अटेर गरेको छ ।

सोमबार मेडिकल कलेज प्रशासन र विद्यार्थीबीच वार्ता भएको थियो । प्रशासनले कलेजको पठनपाठन सुचारु गराउन विद्यार्थीलाई वार्तामा आउन आग्रह गरेको थियो ।

विद्यार्थीहरुले भने सरकारले दिएको निर्देशन पालना गर्न र आफूहरुले तिरेको शुल्कको भौचर उपलब्ध गराउन माग गरेका थिए ।

Advertisement

’सरकारको निर्देशनको चिठी पाएका थिएनौँ भनेर उहाँहरुले भन्नुभयो’, वार्तामा सहभागी विद्यार्थी सुमित पटेलले भने, ’उहाँहरुले चिठ्ठी बुझेपछि कुरा गरौँला भन्नुभयो ।’

विद्यार्थीहरुले अतिरिक्त उठाइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन पालना गर्न माग गर्दै आएका छन् ।

Advertisement

त्यस्तै विद्यार्थीहरुले कलेज प्रशासनसँग आफूहरुले तिरेको शुल्कको भौचर दिन माग गरेका छन् ।

’उहाँहरुले सन् २०१६ को भौचर अहिले कसरी दिने भनेर भन्नुभयो’, पटेलले भने, ’हामीले कलेजको लेटरप्याडमा पैसा तिरेको छ भनेर लेखेर भएपनि दिनुहोस् भनेर भन्यौँ ।’

कलेज प्रशासनले भने भौचर दिन आनाकानी गरेको पटेलले बताए ।

’वार्तामा कोहीपनि बोर्डका सदस्यहरु सहभागि भएनन्’, पटेलले भने, ’प्रशासनका व्यक्तिहरु निर्णय गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले वार्ता त्यतिकै टुङ्गियो ।’

गण्डकी मेडिकल कलेजले सरकारको तोकेको भन्दा धेरै रकम असुलेपछि विद्यार्थीहरु आन्दोलित छन् ।

उनीहरुले कलेजको बेसिक साइन्स भवनमा तालाबन्दी गरिदिएका छन् ।

गण्डकी मेडिकल कलेजका सञ्चालकहरुले सरकारको निर्देशन पालनामा अटेरी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

’विद्यार्थीहरुले हामीलाई शुल्क लिएको भौचर समेत दिइएन भनेका छन्’, केसीले भने, ’हामीले विद्यार्थीहरुले अस्पतालको सेवा बन्द नगर्नुस् भनेका छौँ।’

केसीले गण्डकी मेडिकल कलेजले शिक्षा मन्त्रालयले दिएको निर्देशन प्राप्त नगरेको बताएको उल्लेख गरे । ’हामीले त्रिभुवन विश्वविद्यालयलाई के कस्तो निर्णय र निर्देशन भएको हो र पत्र गण्डकी मेडिकल कलेजले किन प्राप्त गरेन भनेर जवाफका लागि पत्र पठाएका छौँ’, केसीले भने ।

उनले गृहमन्त्रालयले गरेको परिपत्र प्राप्त भए लगत्तै प्रशासन बढी शुल्क लिएको भए कारवाहीमा अगाडि बढ्ने बताए ।

गृह मन्त्री र शिक्षा मन्त्रीबीच सोमबार मेडिकल कलेज सञ्चालकहरुले असुलेको रकम फिर्ता गराउने नभए कारवाही अगाडि बढाउने सहमति भएको थियो । साभार सेतोपाटीबाट ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top