१५ जेष्ठ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए ।
निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
त्यस्तै उनले सरकारका हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोधको मात्र सामना गर्नुपरिरहेको बताए । जनताका लागि भन्दा पनि सत्ताआकांक्षी समूहले मुलुकको लोकतान्त्रिक प्रणालीको दुरुपयोग भएको उनको भनाइ छ ।
उनले अगाडि भनेका छन्, मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो।
सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।