छाङरु जोड्ने घोडेटो हस्तान्तरण, स्थानीयले आफ्नै भूमिबाट गाउँ जान पाउने

१९ असोज ७७, मंगलबार

दार्चुला : नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो हस्तान्तरण गरेको छ । सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गर्नुभएको हो ।

नेपाली सेनाले झण्डै चार महिनाको अविरल प्रयासपछि व्यास गाउँपालिका–१ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो भीर फोरेर उक्त बाटो निर्माण गरेको हो । एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले चट्टानी भीर फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।

घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भए पनि तम्बाकु भीरमा अझै पनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भिर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् । घाँटीबगर ईलाकाको घोडेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भीरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भीरमा सफलतापूर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गर्नुभयो ।

Advertisement

झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनि हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा यहाँका बासिन्दा दुई दशकदेखि खलंगापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए । उक्त क्षेत्रमा पैदल बाटोसमेत नहुँदा खलंगादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका १२० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ७० परिवारलाई कुञ्चा (बसाई) सर्न समस्या हुँदै आएको थियो ।

दार्चुला सदरमुकाम खलंगाबाट ६० किलोमिटर उत्तरमा पर्ने घाँटीबगर क्षेत्रको बाटो निर्माणकै क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए । नेपाली सेनाले पहरो फोडेर बाटो बनाएपछि अब शौका समुदायका साथै सुरक्षाकर्मी र कर्मचारीलाई नेपाली भूमि भएर व्यास जान सहज भएको व्यासका स्थानीय एबं प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले बताउनुभयो । भारतीय सीमानजिकको छाङरु गाउँ र चीनको तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा बसोबास रहेका शौका समुदाय हिउँदमा कात्तिकदेखि चैतसम्म दार्चुला सदरमुकाम खलंगा बसाई सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि कार्तिकसम्म व्यास क्षेत्र उक्लिदै आएका छन् ।

Advertisement

गाउँसम्म पुग्ने स्वदेशतर्फ बाटो नभएकै कारण व्यासबासीले बर्सेनि विभिन्न समस्या भोग्दै आएका थिए ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top